हिमालयन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडाैं । हिमालयन हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीले शुक्रबार क्यपिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हाे । सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७ साल असाेज १२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियाे । उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको यस कम्पनीको अधिकृत पुँजी १९८ करोड तथा जारी पुँजी १०९.५० करोड रहेको छ । कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात २२.५० करोड बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात १३.५० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।          

एनएमबि क्यापिटलले घोषणा गर्याे २ फण्डको लाभांश

काठमाडौं । एनएमबि क्यापिटलले आफ्ना दुई वटा फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि फिफ्टीका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । क्यापिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा एनएमबि हाइब्रिड फण्ड–१ का इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत र एनएमबि फिफ्टीका इकाईधनीहरुलाई १.०५२६३ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड–१ का इकाईधनीहरुलाई आव २०७५/०७६ मा १० प्रतिशत, २०७६/०७७ मा ८ प्रतिशत र २०७७/०७८ मा २० प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, एनएमबि फिफ्टीका इकाईधनीहरुलाई आव २०७६/०७७ मा ५ प्रतिशत र २०७७/०७८ मा ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

म्यूजिक नेपालले आइपीओ जारी गर्ने

काठमाडाैं । म्यूजिक नेपालले आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीले यसकाे लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेकाे छ  । उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन् । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।