मार्जिन लेण्डिङको भविष्य नदेखेपछि ७ ब्रोकर कम्पनीले लाइसेन्स नविकरण गरेनन् : अध्यक्ष मैनाली
काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ७ वटा ब्रोकर कम्पनीले लाइसेन्स नै नवीकरण नगरेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मार्जिन लेण्डिङको सम्भावना नदेखेपछि नवीकरण नगरेको बताएका हुन् । अन्य देशकोभन्दा नेपालमा ब्रोक्रेज सेवा सस्तो रहेको उनी बताउँछन् । हाल ५० वटा ब्रोकर कम्पनी संचालन रहेकोमा एउटा ब्रोकरले २६ हजारभन्दा बढीलाई सेवा दिने उनले बताए । यस्तै, उनले नेप्सेको भन्दा सेबोनको शुल्क धेरै भएको पनि बताए । ‘सेयर बिक्री गर्दा लगानीकर्ताको खातामा ट्रान्सर्फर गर्दा २५ रुपैयाँ मात्रै छ, फोन गरेर सेयर खरिद बिक्री गरेमा ५० रुपैया लिने गर्छन्,’ उनले भने । मैनालीले नेपालमा मात्रै उधारोमा सेयर कारोबार हुने र मेरो कम्पनीमा डीपी खोल भनेर भन्ने गरिएको बताए । त्यस्तै, सेबोनको नीति तथा कार्यक्रममा ब्रोक्ररको मुद्दा समावेश नभएको उनले गुनासो गरे । सेबोन आफ्नो नियामक भूमिकामा स्पष्ट नभए पुँजी बजारको विस्तार नहुने उनको भनाइ छ ।
नेपाल लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बिहीबार मात्रै इन्स्योरेन्सको ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।
नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम
काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । कारोबार खुलेदेखि ओरालो लागेको परिसूचक दिनभरकै न्यूनतम बिन्दुमा झरेको छ । बुधबारको तुलनामा परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७७ प्रतिशतले घटेको हो । बुधबारको परिसूचक भने एकल अंकले घटेको थियो । त्यस्तै, अघिल्लो दिन ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २६ करोड रुपैयाँले कम हो । कारोबार घटेको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने घटेर ८०५ रुपैयाँमा झरेको छ । बजारमा १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य दुई कम्पनी रहेका छन् । हिमालयन डिष्टिलरी र अपि पावरको क्रमशः १३ करोड १७ लाख र १२ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि बलेफी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, यूनाइटेड इदि मार्दी आरबी हाइड्रोपावरको भने ९.५२ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार प्रतिकित्ता ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।