सेयर बजारमा देखियो हरियो, कारोबारको शीर्ष स्थानमा एनटीसीसहित अधिकांश वाणिज्य बैंक

काठमाडौं । लामो समयपछि सेयर बजारमा हरियो देखिएको छ । पछिल्लो समय राताम्मे देखिने गरेको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेर हरियो भएको छ । दिनभरको कारोबारमा सेयर मूल्य मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६४ प्रतिशतले बढी हो । परिसूचकमा सुधार देखिएको बजारमा कारोबार रकम भने घटेको छ । बुधबार १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार भने १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । २२१ वटा स्क्रिप्स कारोबारमा आएको बिहीबारको बजारमा कूल ३५ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी कारोबार गर्नेको शीर्षस्थानमा वाणिज्य बैंक रहेका छन् । शीर्ष ५ स्थानमा नेपाल दूरसञ्चार कम्पनीसहित बाँकी ४ वटै वाणिज्य बैंक रहेका छन् । एनटीसीको एकैदिन १३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रोमा रहेको एनसीसी बैंकको कूल १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नबिल बैंकसँग गाभिने हल्लासँगै बैंकको बढी सेयर कारोबार भएको बुझिन्छ । त्यस्तै, बढी कारोबार गर्नेको तेश्रोमा सिभिल, चौथोमा एनआईसी एशिया र पाँचौंमा नबिल बैंक रहेको छ । सिभिल बैंकको ४ करोड ७१ लाख, एनआईसी एशियाको ३ करोड ५७ लाख र नबिलको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबारको शीर्ष स्थानमा रहेका ५ कम्पनीमा अधिकांशको सेयर मूल्य बढेको छ । जसमा एनटीसीको सेयर मूल्य ३० रुपैयाँले बढेर प्रतिकित्ता ८९५, एनसीसीको १३.९० रुपैयाँले बढेर प्रतिकित्ता २२२.९० र सिभिलको ७.१० रुपैयाँले बढेर प्रतिकित्ता २०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एनआईसी एशियाको सेयर मूल्य ६.६० रुपैयाँले घटेर प्रतिकित्ता ६९७.४० रुपैयाँमा झरेको छ । नबिल बैंकको भने प्रतिकित्ता ८२५ रुपैयाँमा सेयर किनबेच भएको छ । त्यस्तै, दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको १०, रिभर फल्स पावरको ९.९७ र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर क्रमशः ५४२.५०, २९०.२० र १४९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य घटेको छ । जसको सेयर मूल्य ३.८० प्रतिशतले घटेर प्रतिकित्ता ४०५ रुपैयाँमा झरेको छ । पछिल्लो समय राताम्मे देखिएका समूह सूचकहरु बिहीबार भने अधिकांश हरिया देखिएका छन् । इन्भेष्टमेन्ट र जीवन बीमा सामान्य अंकले घटेका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।

नेप्सेले तय गर्यो ६ दिन खुल्ने सेयर बजारको कारोबार समय

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले असार महिनादेखि सातामा ६ दिन सेयर कारोबार खुलाउने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले जेठ २३ गते एक सूचना जारी गर्दै अब शनिबार बाहेक साताको ६ दिन नै सेयर कारोबार खुलाउने निर्णय गरेको हो । जसको लागि नेप्सेले कारोबार समय पनि तय गरिसकेको छ । सो अनुसार आइतबारदेखि बिहीबारसम्म हालकै नियमित समय अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) कारोबार खुल्ने छ । त्यस्तै, हरेक शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म (२ घण्टा) खुल्ने नेप्सेको कारोबार शाखाले जानकारी गराएको छ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै नेप्सेले नयाँ व्यवस्था गरेको हो । यससँगै दोश्रो बजारका लगानीकर्ताले सातामा ६ दिननै सेयर किनबेच गर्न पाउने भएका छन् । सो अनुसार लगानीकर्ताले भोलि जेठ ६ गते शुक्रबार पनि दुई घण्टा सेयर खरिद बिक्री गर्न सक्नेछन् । यसअघि सातामा ५ दिन मात्रै सेयर कारोबार खुल्ने गरेको थियो ।

ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले असार २ गतेदेखि मर्जर प्रकृयामा रहेका ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार रोक्का गरिदिएको हो । यी दुई बैंक एक आपसमा गाभिनको लागि असार २ गते नै बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रकृया नसकिएसम्म दुबै बैंकको सेयर कारोबार रोक्का हुने छ । सम्बन्धित समाचार बराबरी हैसियतमा ग्लोबल र बिओकेबीच मर्जर सम्झौता, अध्यक्ष ढकाल र सीईओ बज्राचार्य