योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुरहरू बेरोजगार
बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन् । उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई खेमामा विभाजित भएका छन् । कोहलपुर–१५ निवासी मजदुर शोभाराम यादवले ट्रेड युनियनका नाममा भएको आन्दोलनले रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे । कतिपय मजदुरहरूले भने आफूहरूको सहमतिबिना, उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको फर्जी नाम राखेर ट्रेड युनियन गठन गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् । खारेजीको माग गर्ने मजदुरहरूलाई ट्रेड युनियनका नेताहरूले डरत्रास र धम्की दिने गरेको यादवले बताए । कोहलपुर–६ निवासी मजदुर गीता थारुले अहिले आफूहरूलाई सङ्गठनभन्दा पनि रोजगारीको खाँचो रहेको बताइन् । सङ्गठनको आन्दोलनका कारण आफ्नो दुई महिनादेखि जागिर गुमेको उनको भनाइ छ । उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले ट्रेड युनियनको नेतृत्व गर्ने अधिकांश सदस्यहरू उद्योगमा कार्यरत नै नरहेको दाबी गरे । उनले फर्जी नाम राखेर दिएको निवेदनलाई प्रमाणीकरण नै नगरी श्रम कार्यालय, नेपालगञ्जले प्रतिष्ठानस्तरको ट्रेड युनियन गठन गरेकोमा आपत्ति जनाए । श्रेष्ठका अनुसार उद्योग पूर्णरूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गरियो । पहिलेदेखि नै पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक करिब पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगलाई श्रम कार्यालयले वास्तविकता नबुझी खाता रोक्का गरिदिएपछि बन्द गर्न बाध्य हुनुपरेको उनको भनाइ छ । 'हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ', श्रेष्ठले भने, 'घाटामा गएको उद्योगले अहिले तत्काल पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्थामा छैनौँ, तर परिस्थिति सुध्रिनासाथ सेवा सुविधा बढाउँदै लैजाने हाम्रो सोच छ ।' श्रेष्ठले उद्योग बन्द हुँदा दैनिक १० लाखभन्दा बढी घाटा भइरहेको भन्दै सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गरे । श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले योयो प्लाइउडका मजदुरहरू विभाजित भएको स्वीकार गरे । उनका अनुसार उचित पारिश्रमिक नपाएको भन्दै केही मजदुरद्वारा सङ्गठनका नाममा परेको उजुरीमाथि कारबाही हुँदै जाँदा उद्योगको खाता रोक्का गरिएको थियो । अहिले मजदुर र उद्योग प्रतिनिधिहरू दुवै पक्ष उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेका छन् । 'अहिले मजदुर र उद्योगका प्रतिनिधिहरू उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहनुभएको छ', रजकले भने, 'सबैपक्षको माग र कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन छलफल भइरहेको छ ।' ट्रेड युनियन दर्ताको विषयमा भने रजकले दर्ताका लागि आएको निवेदन र मजदुरको हस्ताक्षरको आधारमा सङ्गठन दर्ता गरिएको बताए । मजदुरको हस्ताक्षर कीर्ते भएकोलगायतका विषयमा प्रमाणीकरणको लागि ३५ दिनभित्र श्रम अदालतमा जानसक्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ । विगत पाँच वर्षदेखि सञ्चालित यो उद्योगले कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका खटिक समुदायको बसोबास रहेको स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएको थियो । उद्योग बन्द भएपछि स्थानीयहरूको मुख्य रोजगारीको स्रोत पनि गुमेको छ । रासस
विश्वभर पुग्दै नेपाली आलुबाट बनेको ‘फ्रेञ्च फ्राइज’, अमेरिकापछि अब युके, अस्ट्रेलिया र जापानमा पनि
काठमाडौं । नेपालमा उत्पादित ‘फ्रेञ्च फ्राइज’ अमेरिका निर्यात सुरु गरिसकेको फर्स्ट च्वाइस फुड्स प्रालिले विश्वका अरू मुलुकमा पनि निर्यात प्रक्रिया अगाडि बढाएको छ । उद्योगका सञ्चालक कृष्ण पौडेलका अनुसार अस्ट्रेलिया, युके र जापानमा ‘फ्रेञ्च फ्राइज’ पठाउने तयारी भइरहेका हो । ‘यही मंसिर महिनाभित्रै युके पठाउँदैछु, जापान पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ,’ सञ्चालक पौडेलले भने, ‘निर्यात गर्नुअघि डकुमेन्टेसन, गुणस्तरदेखि लिएर सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यो भइरहेको छ ।’ निर्यात अघि अपनाउनुपर्ने प्रक्रिया सहज भएको उद्योगी पौडेलले बताए । उनका अनुसार केही आधारभूत ल्याब, कच्चा पदार्थ मेट्रियल ल्याब, क्वारेन्टाइन भएकोले समस्या छैन । आफ्नो उत्पादनमा स्थानीयदेखि लिएर सरकारको पनि सकारात्मक साथ रहेको उनको भनाइ छ । उद्योगी पौडेलका अनुसार फस्ट च्वाइस फुड्सले हालसम्म ३० जिल्लाका करिब ३५ हजार किसानलाई उद्योगसँग जोडेको छ । किसानलाई आवश्यक बीउ उद्योगले नै वितरण गर्दै आएको छ । साथै आलुको न्यूनतम मूल्य पनि तोकेको छ । उद्योगले खेतमै गएर किसानको आलु खरिद गर्ने गरेको छ । उनले भने, ‘हामीले आलुको न्युनतम रेट तोक्नुका साथै उत्पादन पछि हामी खेतमै गएर आलु खरिद गर्छौं । किसानलाई बजारको चिन्ता गर्नुपर्दैन ।’ केही समयअघिसम्म नेपाली बजारमा मात्रै सीमित आफ्नो उत्पादन अहिले अन्तर्राष्ट्रियमा बजारमा पुग्दा उत्साहित छन् उद्योग पौडेल । साथसाथै नेपालीले नेपाली उत्पादनलाई सर्पोट नगर्ने तीतो यथार्थ पनि रहेको उनले सुनाए । ‘नेपाली उत्पादन गुणस्तर छैन भन्ने सन्देश फैलाएको छ, वास्तविकता त्यस्तो होइन,’ पौडेल भन्छन्, ‘नेपाली उत्पादनप्रति हाम्रा विक्रेताहरू नै नाक खुम्चाउनुहुन्छ ।’ त्यस्तै, उद्योगी पौडेलले विश्वका शक्तिशाली देशले क्वालिटी टेस्ट गरेर हाम्रो उत्पादन राम्रो छ भनिरहँदा नेपाली विक्रेता भने हुन्न भनेर पछि परेकै कारण समस्या हुने गरेको बताए । नेपाली उत्पादन नेपाली किसानको पसिना भएकाले त्यसको सम्मान गर्नुपर्ने उनको भनाइ छ । नेपालले वार्षिक अर्बौं रुपैयाँ बराबरको खाद्यपदार्थसँग सम्बन्धित वस्तुहरू आयात गर्ने गरेको छ । उद्योगी पौडेलका अनुसार आलुसँग जोडिएका कुरकुरे, चिप्स, फ्रेञ्च फ्राइज पनि ठूलो मात्रामा आयात हुने गरेको छ । नेपालीमै उत्पादन हुने वस्तु आयात गर्नुको साटो यहीँ उत्पादनलाई बजारीकरण गरेर आयात विस्थापित गर्नुपर्ने उद्योगी पौडेलको जोड छ । ‘एउटा कृष्ण पौडेलले फ्रेञ्च फ्राइजको आयात रोक्न सक्छ भने अर्को कृष्ण पौडेलले उत्पादन गरेर बजारीकरण गरेर ब्राण्डिङ गर्यो भने आयात रोकिँदैन त ?,’ उनले भने । पौडेलका अनुसार पछिल्लो ६ महिनामा भारतबाट आउने फेञ्च फाइज ७० प्रतिशत कम भइसकेको छ । त्यसको फाइदा नेपाललाई नै भएको उनले तर्क गरे । ‘फ्रेञ्चफ्राइज निर्यात गर्दा हामीले डलर भित्र्यायौं जबकि हिजोका दिनमा डलरको अभाव थिएन ? मलाई लाग्छ हामीले एक महिनामा एक लाख डलर भित्र्याएका छौं,’ उनले भने । आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाउँदैछन् उद्योगी पौडेल । किसानको पीडा देखेर नेपालमा पहिलोपटक प्लान्ट टप प्रविधि प्रयोगमा ल्याएको उनले बताए । यो अभियानअन्तर्गत कसरी कष्ट कसरी घटाउने र उत्पादन वृद्धि कसरी गर्ने भन्नेमा जोड दिएको उनको भनाइ छ । ‘माटोमा रमाउने किसानको प्रगति जबसम्म हुँदैन तबसम्म उद्योग र राष्ट्रको हुँदैन भनेर मैले बुझेको छु,’ पौडेल भन्छन्,‘ म उहाँहरूकै हकहितको लागि दिनरात लागिरहेको छु, उहाँहरूसँगै हातेमालो गरेर अघि बढिरहेको छु।’ किसानको लागि स्थानीय सरकार, कृषि मन्त्रलायलगायत सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताउँछन् उद्योगी पौडेल । कागजमा मात्रै कृषि उत्पादन नहुने, त्यसको लागि माटोमा रमाउने किसानसँग हात मिलाउनुपर्ने उनल बताए । ‘कागजमा रमाउने किसानलाई समातेर देश विकास हुँदैन, वास्तविक किसानको पीडा सुन्नुपर्यो, माटोमा रमाउने किसानलई समातेर देशको अर्थतन्त्रदेखि लिएर उत्पादन पनि वृद्धि गर्नुपर्यो,’ उनले भने । नेपालमा गर्न सके सम्भावना नै सम्भावना रहेको तर त्यसमा व्यक्ति मात्रै नभएर सबै सेक्टेर लाग्नुपर्ने उद्योगी पौडेलको विचार छ । ‘म एउटा व्यक्ति हो, व्यक्तिले मात्रै अगाडि बढाएर केही हुँदैन, राष्ट्रलाई अगाडि बढाउने हो भने सबै सेक्टर लाग्नुपर्छ,’ उनी भन्छन् । सरकारी निकायसँगको भेट र छलफलको क्रममा टिकापुरको कैलालीलाई आलुको हब बनाउन अनुरोध गरेको उद्योगी पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले किसानलाई बीउ दिन्छौं, त्यसमा शतप्रतिशत अनुदान र समयमै मल उपलब्ध गराइदिनुस्, उद्योगको लागि केही गर्नुपर्दैन भनेका छौं ।’ उनले आलुमा क्रान्ति ल्याएर छाड्ने अडान राख्ने गरेका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा स्थापना भएको फर्स्ट च्वाइस फुड्सले ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज उत्पादन गर्दै आएको छ । पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले छोटो अवधिमै नेपालको फ्रेन्च फ्राइज बजारमा आफ्नो बलियो स्थान जमाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा पनि पुग्न सफल भएको छ । उद्योगी पौडेलका अनुसार दुई अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको उद्योगले अत्याधुनिक युरोपियन प्रविधि प्रयोग गरेर प्रति घण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमता राख्छ । अहिले फ्रेन्च फ्राइजसँगै कम्पनीले क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, स्मोकी बाइट्स, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटी, पोटाटो वेजेस लगायत उत्पादन पनि गर्दै आएको छ ।
चार महिनामा ३६ अर्ब बढी विदेशी लगानी प्रतिवद्धता, सूचना प्रविधिमा बढ्दैछ चासो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा ३६ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कातिक महिनासम्म नेपालले विभिन्न ८ उद्योग समूहहरूमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिवद्दता प्राप्त भएकाे हो । उद्योग तथा लगानीका क्षेत्रअनुसार कुल ३८२ वटा परियोजना दर्ता भएका छन् । उद्योग विभागको तथ्यांकअनुसार, सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएपनि लगानी रकम भने तुलनात्मक रूपमा कम अर्थात् करिव ८७ करोड ४३ लाख रुपैयाँको प्रतिवद्धता गरिएको छ । सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वनआधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ, जहाँ १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ । पर्यटनतर्फ ११८ उद्योगका लागि ८ अर्ब ९४ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड, ऊर्जामुलक १ वटा उद्योगका लागि १८ करोड, खानीक्षेत्रको १ वटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागकाअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।