बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन
गलकोट । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दूग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा घ्यू कोल्ड स्टोर निर्माण गरिएको दूग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए। सङ्घको रु १० लाख र रु१० लाख पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा १० टन क्षमताको कोल्ड स्टोर बनाइएको हो । जिल्लाका एक हजार ४०० भन्दा बढी किसानबाट दैनिक तीन हजार ५०० लिटर दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको सङ्घले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी बिक्री गर्नका लागि घ्यू कोल्ड स्टोरले सघाएको गौतमले बताए । 'दूधको माग घटबढ हुन्छ, कहिले दूधको माग धान्नै सकिन्न कहिले दूध धेरै भएको हुन्छ, दूधबाट छुर्पी बनाउदा ठूलो परिमाणमा घ्यू उत्पादन हुन्छ, उत्पादन भएको घ्यू एकैपटक बजारमा बिक्रीसमेत हुँदैन त्यसैले घ्यूलाई उचित तापक्रममा भण्डारण गर्न सानो फ्रिजले पुग्दैन' गौतमले भने 'दूधको खपत कम हुँदा उत्पादन भएको घ्यूलाई क्रमश बिक्रीका लागि १० टन क्षमताको कोल्ड स्टोर अझै कम हुन्छ हामीलाई तर अनुदानले राहत मिलेको छ ।' कोल्ड स्टोरमा घ्यूलाई माइनस डिग्रिमा भण्डारण गरिँदै आइएको छ । अहिले सङ्घले रु एक हजार ५०० मा एक केजी घ्यू बिक्री गर्दै आएको छ । दूधसँगै दूधजन्य उत्पादन पनिर, छुर्पी, घ्यू र खुवा उत्पादन गर्दै आएको सहकारी सङ्घले आर्थिक वर्ष २०८१/८२ मा किसानबाट रु आठ करोड ९३ लाखको नौ लाख ९२ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । दूधमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको बागलुङमा २४ प्रारम्भिक सहकारी र एक सङ्घले दूधको संकलन र बजारीकरण गर्दै आएको छ ।
तयारी पोशाक उद्योग संघको अध्यक्षमा पाण्डे पुनः निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए । संघको निवर्तमान अध्यक्षमा चण्डिप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्त राज अधिकारी (हिमालयन कटन फेसन एण्ड इन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भूपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ्ग ई.प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् । साथै, कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेश मान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हीराकाजी मुक्तान (लोगो फेसन ई. प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।
स्काइवर्थको दशैं–तिहार अफर : ४० प्रतिशतसम्म क्यासब्याक
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि योजना सार्वजनिक गरेको छ । ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४० प्रतिशत सम्म क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् । अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजर खरिदमा छुटको सुविधा पाउने व्यवस्था गरिएकोे छ । यसमार्फत उपभोक्ताले चाडपर्वमा आफ्नो घरलाई अपग्रेड गर्न सहज हुने कम्पनीले जनाएको छ । स्काइवर्थका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीले भने, 'पर्व भनेको परिवारसँग खुसी बाँड्ने समय हो त्यसैले स्काइवर्थले यो खुसीमा अझै खुसी थप्न ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ विशेष छुट योजना ल्याएको र यो ४० प्रतिशत क्यासब्याकको साथमा आकर्षक उपहारले हाम्रा ग्राहकहरुमा पक्कै खुसी थपिने छ ।' यो योजना नेपालभर रहेका स्काइवर्थका सबै शोरुम तथा बिक्रीस्थलमा भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ ।