नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ समापन हुँदै, १२० बढी स्टल सहभागिता
काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेलामा निशुल्क प्रवेशको व्यवस्था छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मेला सुरु भएको थियो । मेलामा नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल सहभागि रहेका छन् । मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको थियो । मेलामा उल्लेख्य दर्शकहरुको सहभागित रहेको र मेलाले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया महासंघको मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
नेपालमा लगानीको अपार सम्भावना, महासंघको विदेशी व्यवसायीलाई लगानीको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् । नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गरे । उनले भने, 'चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु ।' अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेको समेत जानकारी गराए । उनले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवर्द्धनको उपर्युक्त माध्यम भएको बताए । यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासङ्घमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ । छलफलका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताए । चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्युरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बनाउन आफूहरू सधैँ तयार रहेको बताए । नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्स सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवसाय प्रवर्द्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैँ सकारात्मक रहेको बताए । छलफलका क्रममा महासङ्घका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्त्वपूर्ण योगदान दिने बताउँदै त्यसका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरे । यस्तै महासङ्घका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताका लागि थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गरे । यही वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यतिबेला चिनियाँ र बङ्गलादेशका व्यवसायीको समूह नेपालमा रहेको छ । शुक्रबार करिब पाँच हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।
झापामा थपिए ७ सय ७६ घरेलु उद्योग, ९ महिनामा सवा २ करोड राजस्व सङ्कलन
झापा । झापा जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । सूचना अधिकारी भट्टराईले झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको जानकारी दिइन् । घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा २ करोड २१ लाख ८८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।