एफएनसीसीआई र एमएनबीसीबीच व्यापारिक सम्बन्ध विस्तारबारे छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र मलेसिया-नेपाल व्यापार परिषद् (एमएनबीसी) बीच नेपाल-मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको छ । महासंघ सचिवालय टेकु काठमाडौंमा बिहिबार भएको छलफलमा दुवै पक्षबीच नेपाल-मलेसिया द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, पर्यटन विस्तार, निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रको विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो । सो अवसरमा महासंघका पदाधिकारीहरूले नेपाल र मलेसियाबीच सहकार्य विस्तार गर्न सकिने सम्भावना र अवसरबारे जानकारी गराएका थिए । सो अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालले बिमस्टेक र सार्क जस्ता क्षेत्रीय संगठनहरूमार्फत क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै मलेसियासँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात वृद्धि र मलेसियाबाट थप लगानी भित्र्याउन चाहेको बताए । उनले नेपाललाई एसियाली राष्ट्रहरूको आर्थिक समूह आसियानसँग जोड्न मलेसियाली निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत सुधारहरू गरिरहेको जानकारी गराए । 'नेपाल सरकारले हालै आठवटा लगानीसम्बन्धी ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको छ । द्विपक्षीय लगानी सम्झौताका लागि मन्त्रिपरिषद्ले ढाँचा स्वीकृत गरेको छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनु भयो । यो अवस्थामा नेपालमा लगानी गर्न र सोको लागि सहजिकरण गर्न महासंघ तयार छ,' उनले भने। महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र मलेशिया बचि पर्यटन, कृषि, स्वास्थ्य,शिक्षा, मानव स्रोत र सूचना प्रविधिमा सहकार्यको सम्भावना रहको बताइन् । यस्तै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल सरकारले लगानीसम्बन्धी विभिन्न ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै मलेसियन व्यवसायीहरूलाई नेपालमा लगानी तथा व्यापार विस्तारका लागि सहयोग गर्न महासंघ सधैं तयार रहेको बताए । कार्यक्रममा मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) का अध्यक्ष डाटो प्रदीप कुमार कुकरेजाको नेतृत्वमा आएको मलेसियन प्रतिनिधिमण्डल सहभागी भएको थियो। सो अवसरमा एमएनबीसीका अध्यक्ष डा.कुकरेजाले नेपाल र मलेशिया बीच लगानी तथा व्यापारको पर्याप्त सम्भावना रहेको बताए । 'म नेपाल र मलेशियाबीच व्यापार तथा लगानीका थुप्रै सम्भावनाबारे अवगत छु । मलेशियाले पछिल्लो समय पूर्वाधार विकास, सूचना प्रविधि र पर्यटन लगायतका क्षेत्रमा क्षेत्रमा थुप्रै प्रगति गरेको छ । यस विषयमा नेपालसँग सहकार्य हुन सक्छ । यहाँको सरकार र व्यवसायीहरूले चाहेमा आवश्यक सहजिकरणका लागि एमएनबीसी तयार छ,' डा.कुकरेजाले भने ।
अन्नपूर्ण भेजिटेबलको व्यापारमा उछाल, १० महिनामा साढे ९ अर्बको व्यवसाय
काठमाडौं । अन्नपूर्ण भेजिटेबल प्रडक्ट्स प्रालिले १० महिनामा साढे ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (सन् २०२५)मा ९ अर्ब ५७ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले दुई आर्थिक वर्ष बराबरको व्यापार एकै वर्ष गरेको हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । कम्पनीले सन् २०२२ मा भने १२ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । भारत सरकारले खाद्य तेल तथा कच्चा तेलको आयातमा गरेको कडाइका कारण कम्पनीको आम्दानीमा असर परेको जनाएको छ । सन् २०२४ मा आम्दानीमा गिरावट आएपनि चालु आवमा भने सुधार भएको छ । यद्यपी भारतले सन् २०२४ सेप्टेम्बरमा कच्चा र प्रशोधित सूर्यमुखी तेलमा भन्सार शुल्क क्रमशः २० प्रतिशत र ३२.५ प्रतिशत बढाएको हुँदा प्रशोधित तेल निर्यात बढ्ने अपेक्षा कम्पनीले गरेको छ । जसले गर्दा चालु आवको १० महिनामा कम्पनीले ६१ करोड ३० लाख रुपैयाँ गरेको छ । कम्पनीले सन् २०२१ मा ११ अर्ब ७ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् १९८८ मा त्रिवेणी ग्रुपले स्थापना गरेको अन्नपूर्ण भेजिटेबल प्रडक्ट्स विभिन्न प्रकारका तेल प्रशोधन गरी आन्तरिक बजारमा बिक्रीसँगै निर्यात पनि गर्दै आएको छ । २५ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यस उद्योगको प्लान्ट वीरगञ्जमा रहेको छ । प्लान्टबाट कम्पनीले खाद्य तेलहरूको प्रशोधन गर्ने काम गर्छ । कम्पनीले वार्षिक ६० हजार मेट्रिक टन सोयाबीन, पामोलियन, सूर्यमुखी तेल, ७ हजार मेट्रिक टन वनस्पति घिउ र १० हजार मेट्रिक टन तोरीको तेल प्रशोधन गरी घरेलु बजारमा अमृत, सनस्टार र रानी जस्ता ३ फरक ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दक्षिण अमेरिका, मलेसिया, इन्डोनेसिया, युक्रेन, क्यानाडा, अष्ट्रेलिया र भारतबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । कम्पनीले ४ अर्ब १९ करोड ७२ लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले ३ अर्ब १० करोड रुपैयाँ अल्पकालिन बैंक ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । यस्तै, १ अर्ब ९ करोड ७२ लाख रुपैयाँ दीर्घकालिन ऋणका लागि डबल बी माइनस रेटिङ पाएको छ ।
लगानीका थुप्रै सम्भावना छन्, स्पेनीस व्यवसायीसँग सहकार्य गर्न तयार छौंः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेन बीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरूलाई आग्रह गरेका छन् । बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन् । स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारिक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरु सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको धारणा राखे । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै उनले नेपालमा लगानी मैत्री वातावरण निर्माण भएको, सरकारले लगानी र कम्पनी दर्तासम्बन्धी प्रक्रिया सहज बनाउन ‘वान-स्टप सर्भिस सेन्टर’ स्थापना गरिसकेको, राष्ट्रिय बजेटले ऊर्जा, कृषि, सूचना प्रविधि, निर्माण र डिजिटल नव प्रवर्तनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट र व्यापार नियमहरू सजिलो बनाएको उल्लेख गरे । ‘नेपालमा व्यवसाय गर्न सजिलो, छिटो र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो । लगानीको लागि नीतिगत सुधारहरूका लागि महासंघले सरकारसँग निरन्तर पहल गर्यो,’ उनले भने, ‘फलस्वरुप लगानी मैत्री वातावरण बनाउन ३० भन्दा बढी व्यापारसम्बन्धी कानूनहरू संशोधन भएका छन् । जसले नेपालमा लगानीको लागी सहज वातावरण बनेको छ ।’ नेपालसँग स्वच्छ ऊर्जामा विशाल सम्भावना रहेको, ४० हजार मेगावाटभन्दा बढी जलविद्युत क्षमताको उपयोग हुन बाँकी रहेको र क्षेत्रीय विद्युत् व्यापार बढाउँदै नयाँ प्रसारण पूर्वाधार निर्माण भइरहेकाले स्पेनी कम्पनीहरूका लागि यो उपयुक्त समय भएको उनको भनाइ छ । स्पेन विश्वकै सफल पर्यटन उद्योगमध्ये एक भएको नेपाली व्यवसायीहरू पनि त्यो अनुभव र प्रविधिबाट सिक्न उत्सुक रहको चर्चा गर्दै स्पेनी व्यवसायीक समुदायलाई नेपाल भ्रमणका लागि लागि आमन्त्रण गरे । यस्तै उनले सम्बन्धित क्षेत्रहरू पहिचान गर्न, स्थानीय साझेदारहरू भेट्न र प्रक्रिया बुझ्न महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लगानीकर्ताहरू स्थिरता, स्पष्ट प्रक्रिया र भरपर्दो प्रणाली खोज्ने उल्लेख गर्दै अध्यक्ष ढकालले नेपाल पछिल्लो समय पूर्वाधार विकास , डिजिटल प्रणाली, भन्सार र वित्तीय पहुँच सुधारमा केन्द्रित भएको बताए । स्पेनस्थित नेपाली डायस्पोराको भूमिकाबारे चर्चा गर्दै उनले नेपाली उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण र पर्यटन विकासमा नेपालका आर्थिक दूतको रूपमा कार्य गर्न आग्रह गरे ।