विदेशबाट फर्किएका हरि मगरले भोजपुरमा सुरु गरे ६० लाखको उद्यम
भोजपुर । यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ । युवाहरूले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् । विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बनेका छन्– हरि मगर (बाजेन) । वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका मगरसँग हातेट्रयाक्टर मर्मत गर्ने सीप छ । यही सीप अहिले उनको जीवन धान्ने साधन बनेको छ । जिल्लामा व्यावसायिक रूपमा कृषियन्त्र उपकरण बिक्री वितरणसँगै मर्मतमा लागेका मगरलाई अहिले कामले भ्याइनभ्याई छ । पाँच वर्षअघिबाट ट्रयाक्टर बनाउने काममा लागेपछि पछाडि फर्केर हेर्नु नपरेको मगरको भनाइ छ । स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर सुरुमा हातेट्रयाक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताउँछन् । लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लागेका मगर अहिले सफल उद्यमीका रूपमा चिनिन्छन् । सुरुमा हातेट्रयाक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लागेका मगर अहिले उदाहणीय उद्यमी बन्नुभएको छ । सीपले उद्यमीसँगै स्वरोजार बनाएको मगरले बताए । 'मैले विभिन्न देशमा गरी १० वर्ष बिताएँ', मगरले भने, 'विदेशबाट आएपछि मैले घरेलुमार्फत हातेट्रयाक्टर मर्मत गर्ने सीप लिने मौका पाएँ । सीप लिएपश्चात गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ । तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो ।' आफूले सञ्चालन गरिरहको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उनले बताए । गाउँघरमा हातेट्रयाक्टरले खेतबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको छ । भोजपुर नगरपालिका–७ सातधारामुनि कृषि औजार उपकरण बिक्री पसल पनि सञ्चालन गरिरहेको उनी बताउँछन् । ट्रयाक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतबारीमा नै पुगेर सेवा दिने गरेको मगरले बताए । साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सीप दिने र ६० लाख लगानीमा उद्यम सञ्चालन गरिरहेको उनले बताए । 'मैले आफैँले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु, साथीहरूको लहलहैमा लागेर विदेश गइयो । अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दनी गरिरहेको छु । सीपले मानिसलाई सक्षम बनाउने रहेछ', उनले भने । यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उनको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षक रूपमा काम गर्ने मौका पाउने मगरले बताए । तालिममार्फत दुई सय बढी किसानलाई हातेट्रयाक्टर मर्मतको सीप दिइसकेको उनको भनाइ छ । पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ । कृषिजन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भए पनि सञ्चालन तथा मर्मतको ज्ञान नुहँदा भने किसानले समस्या भोग्दै आएका छन् । रासस
आर्थिक कुटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्प्सबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कुटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् । परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कुटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौंको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार: अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्त्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गरे । ढकाल एचसीसीएनका डिन समेत हुन् । ‘सरकार र अनररी कन्सुलर कर्प्स नेपालबीच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्पस्लाई अवैतनिक र औपचारिक दूतको रूपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,’ उनले भने । ढकालका अनुसार वाणिज्यदूतहरू व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवर्द्धन गरिरहेका छन् । उनले वाणिज्यदूतहरूलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गरे । त्यस्तै, भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरूले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरूमार्फत उनीहरुले प्रतिनिधित्व गर्ने देशहरूसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताए । परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कुटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्प्स नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबीच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘आर्थिक कुटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ, उनले भने । निजी क्षेत्रले नेपालको कुल ग्राहस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गरे । भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कुटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रूपमा यस किसिमका कार्यक्रमहरू आयोजना गर्न सकिने विश्वास व्यक्त गरे ।
विद्युत ट्रिपिङप्रति प्राधिकरणलाई सम्वदेनशील हुन उद्योग संगठन मोरङको आग्रह
काठमाडौं । उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणलाई विद्युत ट्रिपिङप्रति संवेदनशील हुन आग्रह गरेको छ । संगठनका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी हाल दैनिक कयौंपटक भइरहेको ट्रिपिङका कारण प्रताडित भएका छन् । वर्षायाम सुरु भएसँगै विद्युत उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन नेपाल विद्युत प्राधिकरणबाट पाएपनि उनीहरू ट्रिपिङका कारण पीडित भएका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेशिनेरीमा समस्या आएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकको काम नभई त्यसै राख्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको जानकारी दिए । उद्योगी व्यवसायीको गुनासो सम्बन्धित निकायलाई बारम्बार सुनाउँदा समेत समस्या समाधानमा ठोस पहल नभएकोमा उनले चिन्ता व्यक्त गरे । नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गरिरहँदा स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतीको मार खेप्न बाध्य रहेको उनले बताए । उनले सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युत प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरे ।