पहिलो दिनमै १० प्रतिशतले घट्यो पिपुल्स पावरको सेयर भाउ

काठमाडौं । पिपुल्स पावरको सेयर भाउ पहिलो दिनमै १० प्रतिशतले घटेको छ । असोज ३० गतेदेखि दोश्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता २५५.७० रुपैयाँमा झरेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८.४० रुपैयाँले घटेर प्रतिकित्ता २५५.७० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर किन्नेभन्दा बेच्नेको बढी चाप भएकाले मूल्य घटेको हो । हालसम्म कम्पनीको १७ हजार ४१ कित्ता बेच्न र ६७ कित्ता किन्नको लागि लगानीकर्ता इच्छुक देखिएका छन् । असोज २७ गते बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो । आईपीओ निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयरको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९४.९६ र अधिकत २८४.८८ रुपैयाँ तोकेको थियो । सो अनुसार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८४.१० रुपैयाँमा शुरु भएको थियो । करिब अधिकतम मूल्यमा कारोबार भएको कम्पनीको सेयर मूल्य यो समाचार तयार पर्दासम्म प्रतिकित्ता २८.४ रुपैयाँले घटेको छ ।

नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश दिने, सेयरधनी मालामाल

काठमाडौं । नेपाल ल्यूब आयलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिनै भएको छ । कम्पनीको ३१ औं वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो । कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले नेपाल ल्युब आयलले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए । ‘व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन्, शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं,’ उनले भने । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग रहेका छन् ।

एनआईसी एशिया क्यापिटलको तीन फण्डको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले संञ्चालन गरिरहेको तीन सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा भएको छ । क्यापिटल अन्तर्गत संचालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा भएको हो । समितिको असोज २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि यि तीन फण्डको घोषणा गरेको हो । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया व्यालेन्सड् फण्डले करसहित १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसहित ९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । लाभांश प्रयोजनको लागि तीनै फण्डले कार्तिक १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।