त्रिशूली जलविद्युतको सेयर वापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर वापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयर वापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ संकलन भएको छ । साविकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले अन्तिम अगावै आवेदन दिन सेयरधनीहरुलाई आग्रह गरे । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रति कित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी ९२ अर्ब ४७ करोड० र ७० प्रतिशत ऋण ९५ अर्ब ७६ करोड०बाट लगानी जुटाइएको छ ।

१३ म्युचुअल फण्डको लाभांश : ३ वटाको २० प्रतिशत बढी, अन्य कुनको कति ?

काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ । अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । गत वर्ष भने सेयर बजार घटेको कारण म्युचुअल फण्डको लाभांश घटेको मर्चेन्ट बैंकर्स बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २८ म्युचुअल फण्ड सूचीकृत छन् । हालसम्म १३ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । लाभांश घोषणा गरेका अधिकांश फण्डको घटेको छ । तर एउटा फण्डको भने लाभांश बढेको छ । एनएमबि हाइब्रिड फण्ड एल–१ को भने लाभांश वृद्धि भएको छ । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले अघिल्लो वर्षको तुलनामा बढी घोषणा गरेको हो । उक्त फण्डले २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । यसअघि उक्त फण्डले इकाईधनीहरुलाई २० प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । लक्ष्मी क्यापिटलका दुई वटा म्युचुअल फण्डको प्रतिफल दोहोरो अंकबाट एकल अंकमा झरेको छ । लक्ष्मी इक्विटी फण्डले अघिल्लो वर्ष ३५ प्रतिशत वितरण गरेको गत वर्षका लागि भने ५ प्रतिशत मात्रै वितरण गरेको छ । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत लाभांश वितरण गरेको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत मात्रै वितरण गरेको छ । यस्तै, नलिब ब्यालेन्स्ड फण्ड–२ ले ७ प्रतिशत, नबिल इक्विटी फण्डले ५ प्रतिशत, एनआईविएल प्रगति फण्डले ४.३ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको हो । यस्तै, एनएमबि फिफ्टीले २१.०५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डले १२ प्रतिशत मात्रै प्रतिफल इकाईधनीहरुलाई वितरण गरेका हुन् । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको र एनआईसी एशिया ग्रोथ फण्डको लाभांश पनि दोहो अंकमाबाट घटेर एकल अंकमा झरेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १३/१३ प्रतिशत प्रतिफल वितरण गरेको हो ।सानिमा इक्विटी फण्डको लाभांशमा पनि गिरावट आएको छ । सो फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको छ ।

नेप्से परिसूचक ९०१ अंकले घट्यो

काठमाडौं । एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९०१ अंकले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को दुई महिनाको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ९०१ अंकले नेप्से सूचक घटेको जनाएको छ । यसअघि २०७८ को भदौ मसान्तमा नेप्से परिसूचक २८१२.३ अंक रहेकोमा ९०१ अंक घटेर २०७९ को भदौ मसान्तसम्म १९१०.४ अंकमा झरेको हो । पछिल्लो समय बजार पूँजीकरण पनि ह्वात्तै घटेको छ । २०७८ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा २०७९ भदौ मसान्तसम्म २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँमा सिमित भएको छ । गत भदौ मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५७ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेका थिए ।