सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आज (भदौ २९ गते, बुधबार) देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरिएको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
एक सातापछि नेप्सेमा देखियो सुधार, नबिलको सर्वाधिक कारोबार, बीएनएलमा लाग्यो सर्किट
काठमाडौं । नेपाली पुँजीबजारमा पछिल्लो एक सातापछि सुधार देखिएको छ । गत भदौ १९ गतेदेखि ओरालो लागेको बजार भदौ २८ गते दोहोरो अंकले बढेको हो । मंगलबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक उकालो लागेको छ । परिसूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.११ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८३ करोड १६ लाखको कारोबार भएको बजारमा मंगलबारमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन एकैदिनमा ९ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । सोमबार पनि सर्वाधिक कारोबार भएको बैंकको मंगलबार ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता ७७० रुपैयाँ पुगेको छ । बढी कारोबार गर्नेको दोश्रोमा रिडी पावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन ५ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा बोटलर्स नेपाल (बालाजु) (बीएनएल) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा १९४.१० रुपैयाँले बढेर प्रतिकित्ता २ हजार १३६ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.२२ अंकले बढेको छ ।
धितोपत्र दलालको पूँजी ६० करोड र व्यापारीको पूँजी १५० करोड रुपैयाँ हुनुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र व्यवसायाी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथौ संशोधन) २०७९ सार्वजनिक गरेको छ । यो नियमावली लागु भएको ३ वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी नयाँ अनुमति पत्रको लागि आवेदन खुला गर्नेछ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि नियमावली प्रारम्भ भएको ३० दिनको समय दिएर इच्छुक संगठित संस्था वा कम्पनीबाट धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि मात्रै आवेदन खुला गर्नेछ । नियमावलीको ३ को उपनियम १ मा धितोपत्र व्यवसायीले पुर्वाधार तयार पार्दा बोर्डलाई जानकारी गराउनु पर्नेछ । सोही व्यवस्थाको उपनियम २ मा तोकिएको समयभित्र न्यूनतम पूर्वाधार तयार नभएमा आवेदन रद्द हुने व्यवस्था मिलाएको हो । अनुसूची ९ अनुसार धितोपत्र दलाल सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ४० करोड रुपैयाँ र धितोपत्र व्यापारीका लागि १५० करोड रुपैयाँ चुक्ता पूँजी हुनेगरी नियमावली संशोधन गरिएको हो । यो नियम प्रारम्भ हुँदा सञ्चालनमा रहेका धितोपत्र दलाल तथा व्यापारीले २०८२ असार मसान्तभित्र तोकिएको चुक्ता पूँजी वृद्धि गर्न सक्नेछन् । मर्जर तथा एक्विजीशनमार्फत् पूँजी वृद्धि गर्न सक्ने भएका छन् । [pdf id=351599]