इन्ट्रा-डे कै उच्च बिन्दुमा परिसूचक, कारोबार पनि बैशाख यताकै उच्च
काठमाडौं । आइतबारको सेयर बजार इन्ट्रा-डेको उच्च बिन्दुमा पुगेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ बिन्दुमा पुगेको छ । जुन दिनभरीको कारोबारको उच्चतम बिन्दु हो भने पछिल्लो कारोबारको तुलनामा ५.१० प्रतिशतले बढी हो । कारोबारको शुरुवातीदेखि उकालो यात्रामा रहेको बजारले अन्त्यसम्म पनि निरन्तर उकालोको यात्रा पार गरेको छ । ४ घण्टाको कारोबारमा परिसूचक न्यूनतम १८६३.४३ देखि अधिकतम १९५७ बिन्दुको बीचमा रह्यो । त्यस्तै, बजारमा २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत बैशाख यताकै उच्च छ । बैशाख २९ गतेको बजारमा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछि भने सो मात्राको सेयर किनबेच भएको थिएन । सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो परिसूचक बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बैंकको सेयर मूल्य पनि बढेर प्रतिकित्ता २०३ रुपैयाँ पुगेको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । दिनभरको कारोबारमा २१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य ९.९५ देखि ९.९९ प्रतिशतले बढेको छ । लामो समय पछि सेयर बजारमा सुधार देखिएको छ । बजार सुधारको लागि नेपाल धितोपत्र बोर्ड र सेयर बजारका लगानीकर्ताबीच १२ बुँदे सहमति भएसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको देखिन्छ । लगानीकर्ता र बोर्डबीच गत शुक्रबार सहमति भएको थियो । त्यसपछि त्यो दिनको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । आज आइतबारको बजारमा पनि बजार कारोबार शुरु भएदेखि अन्त्यसम्म निरन्तर उकालो लागेर बजार बन्द भयो ।
सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो परिसूचक
काठमाडौं । लामो समय पछि सेयर बजारमा सुधार देखिएको छ । बजार सुधारको लागि नेपाल धितोपत्र बोर्ड र सेयर बजारका लगानीकर्ताबीच १२ बुँदे सहमति भएसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको हो । लगानीकर्ता र बोर्डबीच गत शुक्रबार सहमति भएको थियो । त्यसपछि सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । आज आइतबारको बजारमा पनि बजार कारोबार शुरु भएदेखि उकालो लागिरहेको छ । र, कारोबार शुरु भएको करिब ३ घण्टामै परिसूचक ८१.६१ बिन्दुले बढेको छ । दिउँसो १ बजेर ४८ मिनेट जाँदा परिसूचक ८१.६१ बिन्दुले बढेर १९४३.६६ बिन्दुमा पुगेको छ । जुन गत शुक्रबारको तुलनामा ४.३८ प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । हकप्रद सेयर जारी गर्न अनुमति पाएसँगै कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भइरहेको छ । कम्पनीको तीन घण्टामै ६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । त्यस्तै, नागरिक लगानी कोष (सीआईटी) र ङादीसहित विभिन्न कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ । र, बढ्दो बजारमा गुमाउने कुनै पनि कम्पनी देखिएका छैनन् ।
संचयकर्तालाई १७४ करोड र लगानीकर्तालाई ९८ करोड दिने नागरिक लगानी कोषको निर्णय
काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई लाभांश र संचयकर्तालाई थप प्रतिफलको घोषणा गरेको छ । कोषले संचयकर्तालाई एक अर्ब ७४ करोड रुपैयाँ अतिरिक्त प्रतिफल दिने भएको छ भने सेयर लगानीकर्तालाई ९० करोड १० रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । शनिबार बसेको कोष सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए । आर्थिक बर्ष २०७७/७८ सम्मको नाफाबाट उक्त लाभांश दिन लागिएको हो । नागरिक लगानी कोषका कर्मचारी बचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय भएको हो । कोषले सञ्चालन गरेको कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागी छन् । २०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरेको जानकारी दिएको छ । गत आर्थिक वर्षको नाफाबाट कोषले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त बोनस स्वरुप कोषमा ९८ करोड १० लाख रुपैयाँ बराबरको चुक्ता पुँजी वृद्धि हुनेछ । कोषले बोनस सेयरमा लाग्ने कर स्वरुप सरकारलाई ५ करोड १६ लाख रुपैयाँ पनि तिरिदिने भएको छ । काेषकाे लाभांश घाेषणा सार्वजनिक भएकै दिन सेयर मूल्य प्रतिकित्ता साढे दुइ सय रूपैयाँले बढेकाे छ । काेषकाे सेयर मूल्य प्रतिकित्ता २४०० भन्दा बढीमा काराेबार भैरहेकाे छ ।