बलेफीको आइपीओमा मागभन्दा १३ गुणा बढीको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा करिब १३ गुणा बढीले आवेदन दिएका छन् । भोलिसम्म आवेदन दिने म्याद रहेको आइपीओमा आजसम्म १८ लाख ७० हजार ७०९ जनाले दुई अर्ब १२ करोड २६ लाख ७५ हजार बराबरको आवेदन दिएका छन् । यो आवेदन रकम मागभन्दा १२.७६ प्रतिशत बढी हो । बलेफीले चैत १६ गतेबाट सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो तथ्यांक आइतबार साँझ साढे ५ बजेसम्मको हो । ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई जारी भएको हो ।

एकैदिन पौने १६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा एकैदिन पौने १६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको गरी दुई कम्पनीको १५ लाख ८२ हजार ७८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये रिलायन्स फाइनान्सको १५ प्रतिशत अर्थात १३ लाख ७३ हजार ४८६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत अर्थात २ लाख ९ हजार ३०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै यी दुई कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

दिन प्रतिदिन सुस्ताउँदै सेयर बजार, डेढ अर्बको पनि भएन कारोबार

काठमाडौं । पछिल्लो समय सेयर बजार दिन प्रतिदिन सुस्ताउँदै गएको छ । आइतबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२१ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकमले पनि साथ दिन सकेन । दिनभर खुलेको बजारमा करिब डेढ अर्बको सेयर कारोबार भएको छ । २२५ वटा स्क्रिप्सको १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बाहेक सबै बीमा कम्पनीहरु छन् । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, चौथो र पाँचौ स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन छन् । नेपाल लाइफको ४ करोड ११ लाख र लाइफ इन्स्योरेन्सको ३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता बढी कारोबार गर्नेको तेश्रो स्थानमा रहेको नबिल बैंकको भने ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको १०, इमर्जिङ नेपालको ९.९९ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ९.९९ प्रतिशतले बढेर क्रमशः १४५१, १३४१ र ११६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बढी कारोबार भएको सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने घटेको छ । इन्स्योरेन्सको सेयर मूल्य ५.०१ प्रतिशतले घटेर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१६ अंकले घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।