सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र साधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो ।

दुई कम्पनीको बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) र मञ्जुश्री फाइनान्सको कूल ४४ लाख ४४ हजार ०६१ कित्ता बोनस सेयर सूूचीकृत भएको हो । जसमध्ये एनआरएनको ५ लाख ८२ हजार ४८२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । जुन चुक्ता पुँजीको ५ प्रतिशत हो । त्यस्तै, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत अर्थात ३८ लाख ६१ हजार ५७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त सूचीकृत सेयर सम्बन्धित कम्पनीको सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

लुप नेटवर्क्सले चार करोडको आईपीओ जारी गर्ने

काठमाडौं । लुप नेटवर्क्सले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले चार करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका चार लाख कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ । एनआईसी क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत लुप नेटवर्कसको आईपीओ जारी हुन लागेको हो । यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीहरुलाई आईपीओ जारी गर्ने चरणसम्म पुग्न आवश्यक सम्पूर्ण परामर्श दिँदै आएको छ ।