एनटीसी र जीवन विकास लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । बिहीबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एनटीसीको २० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२०.८३ रुपैयाँ कायम भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तिको ७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३ हजार रुपैयाँ कायम भएको छ । यससँगै आइतबारको बजारमा यी दुई कम्पनीको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।
जीवन विकासको सर्वाधिक कारोबार, तीन कम्पनीमा सर्किट, बीमाबाहेक सबै समूह राताम्मे
काठमाडौं । बिहीबारको सेयर बजारमा कारोबार रकम बढेको छ । बुधबारको तुलनामा बिहीबारको कारोबार रकम ५८.८२ प्रतिशतले बढेको हो । बुधबार २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत ५ दिन अर्थात चैत १ गते यताकै उच्च कारोबार रकम हो । गत चैत १ गतेको बजारमा ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछिको कारोबारमा भने ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको थिएन । बिहीबारको बजारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भने सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ३० करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५१०० रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ८० रुपैयाँले घटी हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल दुरसञ्चार प्राधिकरण कम्पनी रहेको छ । कम्पनीको आज २३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य पनि बुधबारको तुलनामा ४३ रुपैयाँले घटेर प्रतिकित्ता १४६५ रुपैयाँ पुगेको छ । कारोबार रकम बढेको बजारमा नेप्से परिसूचक भने घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ बिन्दुमा झरेको छ । जुन बुधबारको तुलनामा ०.६३ प्रतिशतले घटी हो । बीमाबाहेक सबै राताम्मे बजारमा बीमा समूह बाहेक सबै समूह राताम्मे भएका छन् । जीवन र निर्जीवन बीमा समूह भने क्रमशः २.५५ र १.०५ प्रतिशतले बढेका छन् । बिहीबार फाइनान्स समूह सबैभन्दा बढी अर्थात १.९८ प्रतिशतले घटेको छ । परिसूचक घटेको बजारमा पनि ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार राष्ट्र उत्थान लघुवित्त संस्था, इमर्जिङ नेपाल र यूनाईटेड इदी मार्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः १०, ९.९९ र ९.९३ प्रतिशतले बढेर सर्किट लागेको हो । यससँगै राष्ट्र उत्थानको प्रतिकित्ता ८१९.५० रुपैयाँ, इमर्जिङ नेपालको ७६०.७० र यूनाईटेड इदी मार्दीको सेयर मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ पुगेको छ । बिहीबार नेपाल फाइनान्सको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ४.६७ प्रतिशतले घटेर प्रतिकित्ता ६३३ रुपैयाँमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा ३१ रुपैयाँ कम हो ।
मर्ज तथा एक्विजिशनमा जान खोज्दै नेपाल फाइनान्स, बोलायो वार्षिक साधारण सभा
काठमाडौं । नेपाल फाइनान्स मर्ज तथा एक्विजिशनको प्रक्रियामा जान इच्छुक देखिएको छ । संस्थाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा अन्य संस्थालाई प्राप्ति गर्नको लागी सभाको अख्तियारी मागेको हो । संस्थाले आगामी बैशाख ३ गते आफ्नो २९औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने छ । संस्थाले उक्त सभामा मर्ज तथा एक्विजिशनको अख्तियारी सम्बन्धी विशेष प्रस्तावसँगै विभिन्न सामान्य प्रस्ताव लैजाँदै छ । सामान्य प्रस्ताव अन्तर्गत संस्थाले संस्थाको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जनालाई निर्वाचन गर्ने रहेको छ । उक्त सभामा जान संस्थाले आगामी चैत १७ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै चैत १६ गतेसम्म कायम सेयरधनीहरु उक्त सभामा भाग लिन पाउने छन् ।