इन्टरनेटबाट सिकेर सफल उद्यमी बनेकी बसन्ती, ऋण लिएर सुरु गरिन् केक पसल
कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन् । उनले महिनामै ६० हजार रुपैयाँ बढीको कारोबार गर्छन् । खर्च कटाएर ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । बेरोजगार भइन् तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् । फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । 'इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निर्क्यौल गरी व्यवसाय सुरु गरेँ', चन्दले सुनाइन् । एक लाख रुपैयाँबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाख रुपैयाँको सामान थपेकी छन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन् । बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन् । भविष्यका लागि भनेर उनले मासिक आठ हजार रुपैयाँ जति सहकारीमै बचत गर्दै आएकी छन् । 'घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु', चन्दले भनिन् । रासस
गृह मन्त्रीलाई तस्करी, चोरी पैठारी र अवैध कारोबारविरुद्ध कडा कदम चाल्न आग्रह
काठमाडौं । देशभर बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारले अर्थतन्त्रमा गहिरो असर पारिरहेको भन्दै मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष भेटघाट तथा छलफलमार्फत ध्यानाकर्षण गराएको छ । मंगलबार संघको कार्यालयमा आयोजित कार्यक्रममा संघ अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ, कोशी प्रदेश अध्यक्ष पवन कुमार सारडाले गृह मन्त्री लेखकलाई स्वागत गर्दै हालको व्यापारिक चुनौतीबारे छलफल गरेका थिए । अध्यक्ष राठीले खुला सीमाबाट भित्रिने अवैध सामग्री, सस्तो मूल्यका वस्तुले स्वदेशी उद्योगको प्रतिस्पर्धा क्षमतामा गम्भीर असर पारिरहेको भन्दै सीमामा प्रविधियुक्त निगरानी, सुरक्षाकर्मीको सक्रियता र नीतिगत सुधार आवश्यक रहेको बताए । उनले भारतीय बजारको जीएसटी दर कम भएको कारण नेपाली उपभोक्ता दैनिक भारतीय बजारतर्फ आकर्षित हुने, जसबाट दैनिक अबौँ रुपैयाँ बराबरको अवैध कारोबार हुने तथा राजस्वमा खर्बौँ घाटा हुने स्थिति सिर्जना भएको बताए । अवैध कारोबारले भ्रष्टाचार, लागूपदार्थ, हतियार र मानव तस्करी जस्ता जोखिम बढाएको उल्लेख गर्दै उनले स्थानीय तथा केन्द्रीय सरकारबीच समन्वयात्मक कार्ययोजना आवश्यक रहेको धारणा राखे । गृह मन्त्री लेखकले संघका गम्भीर चासोलाई स्वीकार गर्दै सरकारको प्राथमिकता तस्करी नियन्त्रणमै रहेको बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीसँग समन्वय गरी मन्त्रिपरिषदमा विषय उठाउने र दुई महिनाभित्र नियन्त्रणको ठोस प्रत्याभूति दिने प्रतिवद्धता व्यक्त गरे ।
८ महिनामा ४३८ नयाँ उद्योग दर्ता, पौने २ खर्बको लगानी स्वीकृत
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागितालाई थप सुदृढ गर्ने गरी आगामी बजेट आउने बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५ लाई सम्बोधन गर्दै उनले एनआरएनका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री भण्डारीले भने, ‘नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहने गरी आगामी बजेट आउँछ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्वपूर्ण साझेदारीको रूपमा हेरेको छ ।’ सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउँदै नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ । मन्त्री भण्डारीले लगानीका लागि आवश्यक सुधार गर्न मन्त्रालय र मातहतका विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, संस्थानहरूको समग्र सेवा प्रवाह, अनुमतिलगायतका प्रक्रिया सहजीकरण र सरलीकरणमा विशेष जोड दिई नीतिगत सुधारमा ठोस पहल भएको उनले बताए । आर्थिक वर्ष २०८१/८२ को प्रथम ८ महिनामा उद्योग विभागमा ४३८ नयाँ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँको लगानी स्वीकृत भएको, उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको उनले जानकारी दिए । विसं २०८१ फागुनसम्म उद्योग विभागमा ३३३ वटा अटोमेटिक र ६ हजार ६४९ वटा अप्रुभल रुटबाट गरी कुल ६ हजार ९८२ परियोजनाहरूमा ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको तथा यस्ता उद्योगको सञ्चालनबाट ३ लाख ३९ हजार ६७५ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको मन्त्री भण्डारीले जिकिर गरे । उनले स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगमा सरकारले विशेष जोड दिएको जानकारी गराए ।