युवाहरू वैदेशिक रोजगारीतर्फ, बैतडीमा उद्योग दर्ता घट्यो

बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् । दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् । आर्थिक वर्ष २०७९/८० मा यहाँ चार सय २७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले बताउनुभयो । तथ्याङ्कानुसार आव २०८०/८१ मा उक्त सङ्ख्याबाट घटेर एक सय ९१ उद्योगमात्र दर्ता भएको देखिएको छ । त्यसैगरी, आव २०८१/८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आवमा यहाँ एक सय ३५ मात्र उद्योग दर्ता भएका देखिएका छन् । गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ तीन सय ९९ सय फर्म दर्ता भएका छन् । वाणिज्यतर्फ आव २०७९/८० मा एक सय ६३, २०८०/८१ मा एक सय ७३ र गत २०८१ र८२ मा ६३ फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउदले बताए । आव २०७९/८० मा दुई सय ५१, आव २०८०/८१ मा दुई सय चार र गत आव २०८१/८२ मा तीन सय ९३ उद्योग नवीकरण भएका उनले बताए । तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १२२ व्यवसाय नवीकरण भएका छन् । जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् । युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताए । सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उनले बताए । त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट रु ७७ लाख छ हजार ७७८ राजस्व सङ्कलन भएको छ । रासस

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतका दरले ३ लाख ९ हजार ९३८ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

उद्योगमार्फत आत्मनिर्भर बन्दै महिला

गोपालप्रसाद बराल काठमाडौं । बर्दिबास नगरपालिका-१२ का महिलाले सामूहिक रूपमा ‘पञ्च धुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् । राजनीतिमा सक्रिय बर्दिबास-१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका अचारका परिकार बनाएर बजारीकरण गर्ने योजना बनाएको बताइन् ।  ‘त्यसपछि घरमा विभिन्न थरीका अचार बनाउन थालेँ । विस्तारै बजारीकरणमा पहल थालेपछि अचारले राम्रो बजार पायो र यसलाई निरन्तरता दिन थालेकी हुँ,’ उनले भनिन ।  नेपाली कांगेस महासमिति सदस्यसमेत रहेकी कोइरालाले तिहारमा अचारको माग बढेसँगै पर्व लक्षित परिकार बनाउने र बेच्ने योजना बनाएको उल्लेख गरिन् । ‘सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनका विभिन्न परिकार बनाउन थालेँ । बजारमा माग पनि प्रशस्त हुन थाल्यो । त्यसपछि महिला दिदी बहिनीसँग सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनसहित आचार उद्योग सञ्चालनका लागि ‘पञ्चधुरा होममेड अचार’ उद्योग दर्ता गरेका हौँ,’ उनले भनिन् ।  पूर्व-पश्चिम लोकमार्गसँगै बर्दिबास–१ मा सञ्चालित ‘पञ्च धुरा होममेड अचार’ उद्योगको पृष्ठभूमिबारे जानकारी दिँदै उनले भनिनु, ‘पहिले एक्लै थिएँ, अहिले आफूजस्तै केही गरौँ भन्ने सोचका साथीहरूको समूहमा सहभागी भएका छौँ ।’ आफूले थालेको उद्योगबाट उत्पादित वस्तुको माग धान्न नसकेपछि कोइरालाले छर छिमेकका दिदीबहिनी जुटाएर समूह बनाइन् । यो समूह बन्न झण्डै एक वर्ष लागेको उनको अनुभव छ । विसं २०८१ भदौमा समूह बनेपछि पहिलेको नाममा पछाडि ‘उद्योग’ थपिएको उनले जानकारी दिइन् ।  ‘११ जना महिलाको समिति बन्यो । यत्रो जनशक्ति थप्दा पनि समूहका महिलालाई काम भ्याइनभ्याइ छ,’ उनले भनिन् ।  कोइरालाका अनुसार अहिले आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सस्र्यू, लप्सीलगायत विभिन्न किसिमका अचार उत्पदान हुँदै आएको छ । महिला उद्यमीलाई प्रोत्साहित गर्ने आर एण्ड डी संस्थाकी अगुवा सुनिता निमाफुकीले थप हौसला दिएको उनको भनाइ छ । ‘सबैतिरबाट हौसला मिल्यो, मन मिल्दा मेहनती साथी मिले, हामी अघि बढ्यौं,’ कोइरालाले भनिन्, ‘मेरो परिकल्पना अब उद्योग बन्यो, ‘म’ थिएँ, अब हामी भइयो, यसलाई अब हामी नमुना बनाएर देखाउँछौँ ।’ समूहमा आबद्ध भएपछि महिला आत्मनिर्भर बन्दै गएको उनले बताइन् । गृहिणीबाट सामूहिक प्रतिबद्धतामा स्थापित उद्योगलाई अष्ट्रेलियन दातृसंस्था आइसिमोडले अचार बनाउन, मसला पिँध्न, पिठो तयार गर्न र चिस्यान राख्न फ्रिजसहित आवश्यक उपकरण (यान्त्रिक साधन) उपलब्ध गराएको छ । विसं २०८१ भदौमा समूह बने पनि घरबाट सञ्चालन हुँदै आएको उद्योग गत साउनदेखि पूर्व-पश्चिम लोक मार्गसँगै जोडिएको घरभाडा लिएर सञ्चालित छ । अहिले उद्योगको प्रदर्शनी तथा बिक्री कक्ष उत्पादित अचारका बट्टाले सजिएका देखिन्छन् । उद्योगमा सेल र बदाम (चना) को घुगनी (तरकारी) खान टाढाटाढाबाट ग्राहक आउने गरेका समूहकी सदस्य शारदा कोइरालाले जानकारी दिइन् । बिहान बेलुका अचार बनाउने र दिउँसो सेल र चनाको घुगनी बनाएर बेच्न गरेको उनले बताइन् ।  बर्दिबासस्थित मालपोत, यातायात, आन्तरिक राजस्व तथा नापी कार्यालय, नेपाल टेलिकम र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आउने सेवा ग्राही र कर्मचारी नियमित ग्राहक बनेका उनको भनाइ छ । ‘यहाँको सेल र चनाको तरकारीको स्वाद जिब्रोमै झुण्डिएको छ,’ मालपोत कार्यालय परिसरमा लेखापढी काम गर्ने रामबाबु न्यौपानेले भने, ‘दिदी बहिनीले उदाहरणीय कामसँगै आयआर्जन पनि गर्दै जानुभएको छ ।’ पञ्च धुरा ‘होममेड’ अचार उद्योगमा आबद्ध ११ जना महिलाले एक वर्षअघि प्रतिव्यक्ति रु १० हजारका दरले लगानी गरी कारोबार सुरु गरिएको समूहकी सचिव उषा ढकालले बताइन् । उनका अनुसार यो समूह अहिले महिलाका लागि सिक्ने र सिकेको सीप काममा लगाउने केन्द्र बनेको छ ।  ‘समूहमा भएपछि एक अर्काको सीप र आपसी सल्लाहबाट धेरै कुरा जानिने रहेछ,’ समूहमा आबद्ध लक्ष्मी कोइरालाले भनिन्, ‘आगामी दिनमा थप परिकार विस्तार गरी महिलाको सङ्ख्य पनि थप्दै जाने योजना छ ।’ उद्योगमा महिलाको सामूहिक आबद्धताले आफ्नो आवश्यकता पूरा गर्न सहज हुनुका साथै आत्मनिर्भर बन्दै गइएको समूहका महिला बताउँछन् । प्रतिमाका अनुसार समूहमा आबद्ध महिलाको केही गर्ने अठोट र त्यसअनुसारको जाँगर देखेपछि आइसीमोडले सहयोग गरेको हो । ‘यहाँका महिलामा केही गरौँ भन्ने सङ्कल्प छ, हामी उहाँहरूको यो प्रयत्नमा सहयोगी बन्न पाउँदा खुसी छौँ,’ आइसीमोड मधेस कार्यालयका कृषि उपनिर्देशक इजाबेला कोजेलले भनिन्, ‘यो उद्योगले राम्रो सफलता पाउने हाम्रो विश्वास छ ।’ समूहका महिलाको सङ्कल्प र लगन उदाहरणीय रहेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताइन् ।  ‘दिदी बहिनीले उदाहरणीय काम गरी हौसला देखाउनुभएको छ, उद्योगलाई अझ सुदृढ बनाउन र अन्य महिलालाई पनि विभिन्न आर्जनमूलक सीप सिकाएर काममा जोड्नका लागि म समन्वय गर्नेछु,’ उनले भनिन् ।  ‘उहाँहरूमा सुदृढ सङ्कल्प र कामप्रतिको निष्ठा देखिन्छ,’ उपपमुख महतोले भनिन्, ‘यो सिको अरु महिलाले पनि अनुसरण गरून्, नगरपालिकामा महिलाले प्रतिबद्धता सहितको प्रस्ताव ल्याएमा हामी सहयोग र समन्वय गर्नेछौँ ।’ ‘यो काममार्फत राजनीति पेसा नभएर सेवाको क्षेत्र हो भन्ने सन्देश दिँदैछौँ,’ बर्दिबास नगरपालिकाको नगर कार्यसमिति सदस्य लक्ष्मी कोइरालाले भनिन्, ‘आय आर्जनमूलक काम व्यावसायिक रूपमा गर्दा आर्थिकस्तर सुधार हुनुका साथै आत्मनिर्भर बन्न सकिन्छ ।’ आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ । उद्योगको सफल सञ्चालन गरेर महिला यतिसम्म गर्न सक्छन् भन्ने देखाउन पनि आफ्नो सामथ्र्य समूहमा लगानी गर्ने महिलाले प्रतिबद्धता व्यक्त गरेका छन् । रासस