अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा ढकालले गरे नेपालको आर्थिक सुधार र सम्भावनाको प्रस्तुति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्मेलनमा अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरू प्रस्तुत गरे ।  सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराए । सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रूपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए ।  महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै उन नेपालमा अवसर खोज्न सहभागीहरूमा आग्रह गरे ।   ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’  उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरू रहेको बताए । यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । उनले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताए ।

जावलाखेल ग्रुपले नेपाल भित्र्यायो अमेरिकी ब्रान्ड ‘सिनाबन’

काठमाडौं । नेपाली कफी बजारमा वर्चस्व जमाउँदै आएको हिमालयन जाभालाई प्रत्यक्ष टक्कर दिने गरी जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजले विश्वप्रसिद्ध अमेरिकी कफी तथा बेकरी ब्रान्ड 'सिनाबोन' लाई नेपाल भित्र्याएको छ । विशेषगरी मदिराजन्य पेय पदार्थको उत्पादन, निर्यात तथा वितरणमा सक्रिय रहेको जावलाखेल ग्रुपले कफी र बेकरी पारखीलाई लक्षित गर्दै सिनाबोनको आधिकारिक फ्रेन्चाइज नेपाल ल्याएको हो । सिनाबोनले ५० भन्दा बढी देशमा लोकप्रियता कमाएको दालचिनी रोल र सुगन्धित कफीका लागि परिचित ब्रान्ड हो । सानेपाबाट शुरुवात, २२ आउटलेटको तयारी एक महिनाअघि ललितपुरको सानेपामा पहिलो आउटलेट सुरु गर्दै नेपाली बजार प्रवेश गरेको सिनाबोनले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रै २२ वटा आउटलेट सञ्चालन गर्ने योजनामा तयारी गरिरहेको कम्पनीले जनाएको छ। आगामी दिनमा प्रमुख सहरहरूमा समेत विस्तार गरिने लक्ष्य राखिएको छ। सस्तो मूल्य, गुणस्तरीय कफी सिनाबोनमा पाइने कफीको मूल्य हिमालयन जाभाको तुलनामा सस्तो रहेको कम्पनीले जनाएको छ। सानेपामा सञ्चालनमा रहेको शाखामा प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरिएको र यही मूल्य संरचना सबै आउटलेटमा लागू गरिने जानकारी दिइएको छ । 'हाम्रो उद्देश्य सस्तो मूल्यमा उत्कृष्ट स्वाद र गुणस्तर दिनु हो,' कम्पनीका एक प्रतिनिधिले भने । हाइ-एन्ड कफी बजारमा नयाँ विकल्प अहिलेसम्म नेपाली हाइ–एन्ड कफी बजारमा हिमालयन जाभाको एकछत्र राज रहँदै आएको भए पनि सिनाबोनको आगमनले उक्त वर्चस्वमा चुनौती दिने विश्वास गरिएको छ। यसअघि अन्य ब्रान्डहरूले प्रतिस्पर्धा गर्ने प्रयास गरे पनि जाभाको प्रभुत्व कायमै रहेको थियो । तर, स्थापित र भरपर्दो समूह जावलाखेल ग्रुपद्वारा ल्याइएको ब्रान्ड भएकाले उपभोक्ताको विश्वास जित्न सक्ने सम्भावना प्रबल देखिएको छ । कम्पनीले नेपाली बजारमा स्वाद, सेवा र अन्तर्राष्ट्रियस्तरको अनुभव दिन सिनाबोनमार्फत नयाँ बेंचमार्क स्थापना गर्ने लक्ष्य लिएको छ ।

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

दाङ । किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आएका उनको आम्दानी पनि बढ्दै गएकोे छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको हो । उनले घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीबाट दाङको घोराही उपमहानगरपालिका–६ मा बसाइँ सरेका बुढाले आम्दानी गर्नकै लागि विदेश जानु नपर्ने बताए । 'हामीले धेरै पैसा कमाउन भनि बाहिरी देश जान्छौं तर, काम गर्न सके आफनै देशमा पनि आन्दानीका प्रशस्त स्रोत रहेका छन्', उनले भने,'आफ्नै ठाउँमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।' उनले गेमी साला भेना उखु र्फममार्फत आफनो व्यवसाय सञ्चालन गर्दै आएका छन् । उमेरले ४३ वर्ष पुग्नुभएका बुढाले उखुको व्यावसायिक खेती गर्दै आएको क्षेत्र पछिल्लो समय उखु बारी भनेर समेत परिचित हुँदै गएको छ । उखु व्यवसाय गरेदेखि जीविकोपार्जनको लागि अन्य काम खोज्नु नपरेको उनी बताउँछन्। 'आजभोलि गर्मी समय पनि भएको हुँदा बिक्री पनि राम्रो हुने गरेको छ, उखुको जुस बिक्रीमा समस्या छैन', उनले भने’ 'जुनसुकै पेसा व्यवसायलाई निरन्तरता दिन सकियो भने एक दिन उपलब्धि हासिल गर्न सकिने उहाँसँग अनुभव रहेको छ ।' किसान बुढाले तीन बिघा १५ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा उखुको खेती गर्दै आएका छन्। जसको वार्षिक रुपमा रु तीन लाख भाडा तिर्ने गरेको उनी बताउँछन् । पछिल्लो समय उखु भन्दा पनि उखुको जुस नै आम नागरिकको रोजाइमा पर्ने गरेको सुनाए । 'बाहै महिना नै उखु उत्पादन गरेर जुस पेलेर बेच्ने गरेको छु, जसले गर्दा बिक्री गर्न समस्या छैन, जुनसुकै पेसा व्यवसाय गर्दा समस्या चुनौती छ', उनले भने, 'जसका कारण आफनो कामलाई निरन्तरता दिँदै जानुपर्ने छ ।' एक गिलास जुसलाई रु ५० का दरले बिक्री गर्ने गरेको किसान बुढा बताउँछन्। उनले गर्मीको समयमा दैनिक एक सयदेखि दुई सय गिलाससम्म बिक्री गर्दै आएका छन् । उखु खेतीबाट वार्षिक रुपमा रु १५ लाख बढीको कारोबार गर्दै आएको र जसबाट वार्षिक रुपमा ४० प्रतिशत बचत हुने गरेको उनको अनुभव रहेको छ । घोराही बजारदेखि नजिक रहेको हुँदा धेरै मानिसलाई यहाँ उखुको जुस पाउँछ भनेर जानकारी रहेको उनले बताए । उखुको जुसले स्वास्थ्यलाईसमेत फाइदा गर्ने र जण्डिस (अमलपित्त) रोग लागेका व्यक्तिलाई झन औषधिको काम गर्ने भएकाले सबैले रुचाएको बताउँछन् । घोराही–१७ गैरागाउँ क्षेत्रमा मात्रै सात बढी व्यावसायिक उखुखेती गर्ने किसान रहेका छन् । साना व्यवसायिलाई पनि स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनको धारणा रहेको छ । रासस