धितोपत्र बोर्डको नीति तथा कार्यक्रमले मौद्रिक नीतिको व्यवस्थालाई समेट्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आगामी बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सेवोनले साउन १२ गते धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । बोर्डका अध्यक्ष भएर आएसँगै रमेशकुमार हमालले भने पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छन् । अध्यक्ष भएर आएको छोटो अवधिमा पूँजी बजारको विकासको लागि केही गृहकार्य गरिरहेका हमालले महत्वपूर्ण योजना ल्याउने अपेक्षा गरिएको छ । साथै, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको सेयर बजार सम्बन्धी व्यवस्थालाई अध्यक्ष हमालले नीति तथा कार्यक्रममा समेट्ने बुझिएको छ । उक्त नीति तथा कार्यक्रमका लागि बोर्डले बजारका सरोकारवालाहरुसँग राय तथा सल्लाह/सुझाव मागिसकेको छ । जसको अन्तिम म्याद असार २० गतेसम्म थियो ।
नाफा बुक गर्नेको हावी हुँदा घट्यो सेयर बजार
काठमाडौं । मौद्रिक नीति सार्वजनिक गरेको तेस्रो दिनमा आएर सेयर बजारमा राताम्य छाएको छ । मौद्रिक नीति सार्वजनिक भएको २ दिन लगातार बढेको सेयर बजार तेस्रो दिनमा आएर भारि अंकले घटेको छ । सार्वजनिक कार्यक्रममा नै विभिन्न संघ संस्थाका अध्यक्ष लगायतले नै मौद्रिक नीतिका तरलताको समस्या कायम रहने वक्तव्य दिएका कारण लगानीकर्तामा निराशा छाएको छ । साथै नेपाल बैंकर्स संघले झण्डै ६४ अर्ब रुपैयाँ निक्षेप घटेको तथ्याङ्क सार्वजनिक गरेपछि सेयर बजारमा प्रभाव परेको सेयर जानकार बताउँछन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । साथै आज दिनभरिमा २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ६० हजार ५१७ पटक किनबेच हुँदा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको नप्सेले जनाएको छ । दुई दिन लगातार उच्च अंकले सेयर बजार बढेपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजार घटेको सेयर जानकारहरुले बताएका छन् । साथै ब्याजदर अझै बढ्न सक्ने भएकाले पनि बजारमा त्यसको प्रभाव परेको बताइएको छ । मंगलबार बैंकिङ्ग समूह १.७९ प्रतिशत, ट्रेडिङ्ग समूह २.३९ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७७ प्रतिशत, विकास बैंक समूह २.९६ प्रतिशत, हाइड्रोपावर समूह १.९४ प्रतिशत, फाइनान्स समूह २.७७ प्रतिशत, निर्जीवन बीमा समूह १.२४ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.७३ प्रतिशत, अन्य समूह ३.५६ प्रतिशत, माइक्रोफाइनान्स समूह २.२८ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२३ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.५६ प्रतिशत घटेको छ । आज मल्टिपर्पाेज फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.३२ प्रतिशत बढेको छ । त्यस्तै सूर्याेदय वोमी लघुवित्तको ६.७२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ६.१९ प्रतिशत बढेको छ । सबैभन्दा धेरै गणपति लघुवित्तको ६.८२ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १९ करोड ३६ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न दुई कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । सेबोनले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुलाका लागि अनुमति दिएको हो । खप्तड लघुवित्तलाई साउन १० गते र इस्टर्न हाइड्रोपावरलाई साउन ९ गते आईपीओ निष्काशन गर्न सेबोनले अनुमति दिएको हो । खप्तड लघुवित्तले चुक्ता पूँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, इस्टर्न हाइड्रोपावरले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि चुक्ता पूँजीको २० प्रतिशत अर्थात् १२ करोड ४० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका कुल १२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।