मर्जरमा गएको रिलायन्स लाइफको सेयर कारोबार भएपछि नेप्सेले माग्यो माफी

काठमाडौं । मर्जर तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले माफी मागेको छ ।  साथै नेप्सेले के कति कारणले सेयर कारोबार भएको हो भन्नेबारे अनुसन्धान समेत अघि बढाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको त्रुटिवश नेप्सेमा कारोबार हुन गएको भन्दै अनुसन्धान गरेको हो ।  रिलायन्स लाइफ सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर गर्नेभएपछि कारोबार बन्द रहेको छ । दुवै कम्पनीबीच गत असार २९ गते मर्जरको सम्झौता भएको थियो । नेप्सेमा दुवै कम्पनीको सेयर कारोबार रोक्का छ । तर शुक्रबार कारोबारको समयमा टप गेनरमा रिलायन्सको नाम देखिएपछि कारोबार भएको अनुमान गरिएको छ ।  कम्पनीको १६ वटा कारोबारमा २ लाख २४ हजार १ सय २६ रुपैयाँ बराबरको ६ सय १० कित्ता सेयर कारोबार भएको थियो । तर, १२ बजे भन्दा अघि नै कम्पनीको कारोबार पुनः रोक्का गरेको हो ।  ‘गाभ्ने तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकोले यस सम्बन्धमा के कसो भएको हो ? भन्ने विषयमा नेप्सेले उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको  छ,’ नेप्सेले भनेको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्से क्षमाप्रार्थी रहेको जनाएको छ ।

सयपत्री हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?

काठमाडौं । सयपत्री हाइड्रोपावरले आज (साउन १३ गते) शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा छिटोमा साउन १७ गतेसम्म र ढिलोम साउन २७ गतेसम्म आवेदन दिने समय सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मन्दाकिनी हाइड्रोको आईपीओमा १६ गुणा बढी आवेदन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिन मागभन्दा १६.५३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा बिहीबार ५ बजेसम्म १६ लाख १० हजार ९२६ जना आवेदककाे आवेदन परेको हाे । एक करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषहरुका लागि र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।