बिन्ध्यबासिनी हाइड्रोको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृच भएको छ । बुधबार नेप्सेमा कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्युनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेन्ज निर्धारण गरेको छ । सोही आधारमा कम्पनीको सेयर कारोबार बिहीबारदेखि दोस्रो बजारमा हुनेछ । कम्पनीको शेयरलाई नेप्सले बीएचडीसी (द्यज्म्ऋ) कारोबार संकेत प्रदान गरेको छ ।

एक सय रूपैयाँमा पाउनै छोड्यो आईपीओ !

काठमाडौं । पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै सेयर निष्काशन गर्ने कम्पनी पनि धमाधम आउन थालेका छन् । लामो समयदेखि बजारमा आफ्नो छुट्टै छाप छाड्न सफल कम्पनी पनि राम्रो मूल्य पाउन थालेपछि सेयर बजारमा आकर्षित हुन थालेका हुन् । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि यस्ता कम्पनीलाई पूँजी बजारमा ल्याउन प्रिमियम र बुक बिल्डिङ्गको व्यवस्था गरेपछि आकर्षण बढ्न थालेका हो । हाल आईपीओ निष्काशन गर्ने कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता एक सय रुपैयाँमा नै सेयर बिक्री गरिरहेका छन् । तर, लामो समयदेखि नाफामा रहेका र बजारमा आफ्नो छुट्ट छवि बनाएर नाम कमाएका कम्पनी प्रिमियमा आउन थालेपछि एक सय रुपैयाँमा पाइने सेयर नपाइने अवस्थामा पुगेको हो । प्रिमियममा सेयर आउनु भनेको पूँजी बजारका लागि फाइदा हुने सेयर विश्लेषकहरू बताउँछन् । लामो समयदेखि परिश्रम गरेर नाफा आर्जन गर्दै आएका कम्पनीले एक सय रूपैयाँमा सेयर जारी नै गर भन्दा कम्पनीको लागि अस्वभाविक हुने उनीहरू बताउँछन् । हालसम्म अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम सिमेन्ट्स, रूरू जलविद्युत परियोजना, चिलिमे जलविद्युत कम्पनी, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) लगायतका कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरिसकेका छन् । यी कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा प्रिमियम मूल्य थप गरेर साधारण सेयर जारी गरेका हुन् । अब सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग मिल्स, घोराही सिमेन्ट, नेपाल विद्युत प्राधिकरण, सोनापुर मिनरल्स एण्ड आयल, हिमालयन रि इन्स्योरेन्स,कान्तिपुर टेलिभिजन नेटवर्क, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका छन् । जसमा सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग मिल्स र रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन नै दिइसकेका छन् । कम्पनीका संस्थापकले ठूलो मेहेनत गरी प्रमाणित गरिसकेका कम्पनीले एक सय रूपैयाँमा सेयर दिन नसक्ने ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बताउँछन् । पूँजी बजारलाई रियल सेक्टरका कम्पनी आवश्यक रहेकाले यस्ता कम्पनी आउनुपर्ने उनले बताए । ‘बजार घटबढ हुन मौद्रिक नीतिमा निर्भर हुन्छ, वर्षको ४ वटा मौद्रिक नीति आउँछन्, मौद्रिक नीति आउनुभन्दा १५/२० दिन अगाडि के आउँछ भनेर थर्कमान हुनुपर्ने अवस्था छ ।’ सीईओ ढकालले भने, ‘फरक क्षेत्रका कम्पनीहरू पूँजी बजारमा आएपछि ती कम्पनीको प्रभाव छुट्टै लेभलमा हुन्छ, ती कम्पनीहरुको पूँजी बजारमा दबाब हुनुपर्छ ।’ यदि एक सय रूपैयाँमा नै आईपीओ बिक्री गर्ने अवस्था रहिरह्यो भने पूँजी बजारले खासै फड्को मार्न नसक्ने उनको बुझाइ छ । ‘केही सामान्य पोलीसी (नीति वा निर्देशन) आउँदा त्यसले नै बजारलाई प्रभाव पारिरहेको हुन्छ, नियामकलाई गालि गर्नुभन्दा बजारलाई विविधिकरण गरेर स्थीरता ल्याउन सकिन्छ, त्यसले व्यवस्थापन पनि राम्रो हुन्छ,’ उनले भने । प्रिमियम मूल्यमा सेयर आउन थालेपछि नेपालको पूँजी बजार पनि व्यवस्थित हुने उनले बताए । ४/५ वर्षको अवधिमा राम्रो नाफा आर्जन गरिरहेको कुनै कम्पनीले एक सय रूपैयाँमा सेयर दिनै नसक्ने लगानीकर्ता विष्णु बस्याल बताउँछन् । ‘यदि कुनै कम्पनीको मुल्याङ्कन गर्दा उसको मूल्य प्रतिसेयर ५–६ सय रुपैयाँ आयो भने उसले एक सय रुपैयाँमा दिन सक्दैन ।’ उनले भने, ‘कम्पनीको उचित मुल्याङ्कन होस् भन्ने हो, यदि पूँजी बजारको विकास गर्ने हो भने त्यस्ता कम्पनीको मुल्याङ्कन हुनुपर्छ, बजारले निर्धारण गरेको मूल्य पाउनु कम्पनीका लागि राम्रो हो ।’ अन्तर्राष्ट्रिय अभ्यास हेर्दा कम्पनी खोलेको एक वर्ष मात्रै भएको छ भनेपनि प्रिमियम वा बुक बिल्डिङ्गमा आईपीओ निष्काशन गर्न पाउने प्रावधान रहेको बताउँदै लगानीकर्ता बस्यालले नेपालमा नियामक निकायले लगाएका बन्देज हटाउनु पर्नेमा जोड दिए । रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा ल्याउनका लागि एक सय रुपैयाँमा नै दिनुपर्छ भन्ने हो भने कोही कम्पनी पनि आउन नमान्ने लगानीकर्ता बस्यालको बुझाइ छ । लामो समयदेखि लगानी गरेर ब्राण्डेड कम्पनीको सेयर एक सय रुपैयाँमा दिनुपर्छ भनेर अधिकार खोज्न नमिल्ने एलिट क्यापिटल लिमिटेडका अध्यक्ष दिनेश आचार्य बताउँछन् । एक सय रुपैयाँमा नै सेयर बिक्री गर्ने परम्परा रहने हो भने पूँजी बजारको स्तर बढ्न नसक्ने उनले बताए । ‘यस्तो अवस्था रहिरहने हो भने पूँजी बजार चल्न सक्दैन, कि त कम्पनी स्थापना हुना साथ आईपीओ ल्याउनुपर्याे, लामो समयदेखि बजारमा एक खालको ब्राण्ड बनाएको कम्पनीलाई एक सय रुपैयाँमा सेयर दिनुपर्छ भन्न मिल्दैन, अर्थशास्त्रका सिद्धान्त र सामाजिक न्यायका हिसावले पनि मिल्दैन ।’ उनले भने, ‘प्रिमियममा आईपीओ पहिला नै आइसकेको हो, अहिले बुक बिल्डिङ्ग भनेको मात्रै हो, रियल सेक्टरका पुराना कम्पनीलाई पूँजी बजारमा आकर्षित गर्नका लागि ल्याइएको हो ।’ बुक बिल्डिङ्गमा कम्पनीको गुडविल नेटवर्थ ब्राण्ड लगायतका आधारमा मूल्य निर्धारण गरिने मात्रै हो । बुक बिल्डिङ्गमा आउने सेयर सर्वसाधारणले पाउँदै नपाउने सेयर रहेको आचार्य बताउँछन् । ‘बुक बिल्डिङ्गमा आएको सेयर सर्वसाधारणे कहिलै नपाउने सेयर हो । यदि त्यो प्रक्रिया नगर्ने हो भने त्यस्ता कम्पनी पूँजी बजारमा कहिल्यै नआउने उनको धारणा छ ।

नेपाल सरकारको ३५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका विभिन्न ३ वटा विकास ऋणपत्रको ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा १५ अर्ब रुपैयाँको २०८४ ‘छ’ विकास ऋणपत्र सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ९.१९ प्रतिशत रहेको छ । त्यस्तै, १५ अर्ब रुपैयाँको २०८४ ‘ज’ विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ९.०२ प्रतिशत रहेको छ । त्यस्तै, ५ अर्ब रुपैयाँको २०८५ ‘च’ को विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने ८.४९ प्रतिशत रहेको छ ।