एचआईडीसीएलको सेयर मूल्य अक्सनमा भन्दा दोस्रो बजारमा सस्तो

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसिएल) ले भदौ २० गतेदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँमा २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर बिक्री गर्ने भएको हो । गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गरेपनि कम्पनीको सोही प्रकृतिको सेयर दोस्रो बजारमा प्रतिकित्ता १ सय रुपैयाँ भन्दाकम मूल्यमा कारोबार भइरहेको छ । दोस्रो बजारमा कम्पनीको सेयर कारोबार अक्सन सेयर भन्दा कम भएपछि बिक्री नहुन सक्ने सेयर जानकारहरु बताउँछन् । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ भन्दा कम भएका बेलामा बिक्री गर्न नहुने एक लगानीकर्ताले विकासन्युजसँग बताए । बिहीबार कम्पनीको १ लाख २० हजार २५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ करोड २० लाख १९ हजार ४५१ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको उक्त सेयर न्यूनतम प्रतिकित्ता ९८ रुपैयाँदेखि १ सय रुपैयाँमा कारोबार भएको हो । बिहीबार कम्पनीको संस्थापक सेयर खरिदकर्ताले न्यूनतम ९६.७० रुपैयाँ सम्म मूल्य राखेर २ सय कित्ता अर्डर गरेका थिए । कम्पनीको सेयर मूल्य यसअघि हिजो बुधबार प्रतिकित्ता ९८.२० रुपैयाँ थियो भने आज १.८० रुपैयाँ बढेर प्रतिकित्ता १ सय रुपैयाँ छ । कम्पनीको सेयर मूल्य अधिकतम ११५.२० रुपैयाँ पुगेको छ भने न्यूनतम ९६.५० रुपैयाँसम्म झरेको छ । दोस्रो बजारमा लगानीकर्ताले अक्सन मूल्यभन्दा कम मूल्यमा सेयर खरिद गर्न पाइरहँदा गोप्य शिलबन्दी बोलपत्रको सेयर बिक्री नहुने आँकलन गरिएको छ । कम्पनीले सेयर मूल्य घटेको बेलामा अक्सनमा सेयर बिक्री गर्न नहुने सुझाव लगानीकर्ता डमरु बल्लव घिमिरेकाे छ । यसअघि कम्पनीले गत साउन १५ गतेदेखि साउन २९ गतेसम्म २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । सो समयमा कम्पनीको ४६ लाख ४ हजार ९८५ कित्ता सेयर मात्रै बिक्री भएको थियो । यस्तै, गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्रै बिक्री भएको थियो । कम्पनीले हालसम्म गरी ४ पटक सेयर लिलामीमा राखेको हो । तर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण कम देखिएपछि बिक्री गर्न हम्मेहम्मे परिरहेको छ । ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले १ सय रुपैयाँ भन्दा कम मूल्यमा अक्सन गर्न नमिल्ने बताए । सेयर बिक्री गर्नुपर्ने बाध्यता रहेकाले बिक्रीमा राखिएको उनको भनाइ छ । दोस्रो बजारमा सेयर मूल्य कम भएपनि धेरै कित्ता खरिद गर्न नमिल्ने उनको तर्क छ । ‘मार्केटमा धेरै कित्ता पाइँदैन्, अलिअलि कित्ता मात्रै खरिद गर्न मिल्छ, दोस्रो बजारमा खरिद गर्दा शुल्क पनि तिर्नुपर्छ,’ उनले भने, ‘एक सय रुपैयाँभन्दा कम मूल्यमा अक्सन गर्न मिल्दैन तर बजारमा कम मूल्यमा कारोबार भइरहेको छ ।’ कम्पनीको संस्थापक सेयर हालै मात्र दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको हकप्रद सेयर (अक्सन प्रमोटर) गत शुक्रबारदेखि मात्रै कारोबारमा आएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका–२०७४ को दफा १५ को उपदफा ३ को ‘ख’ मा सेयर बिक्री गर्नु पर्दा अंकित मूल्यमा बढाबढ गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको ‘ग’ मा हकप्रद सेयर लिलाम बढाबढबाट बिक्री गर्ने सम्बन्धी सूचना बिक्री खुला हुनुभन्दा कम्तिमा ७ दिन अगाडि कुनै दुईवटा राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्ने उल्लेख गरिएको छ । साेही कारण कम्पनीलाई दाेस्राे बजारमा सेयर मूल्य कम भएपनि अक्सनमा बिक्री गर्नु पर्ने बाध्यता भएकाे हाे ।

पुँजी बजारका ‘हट केक’ कम्पनी : प्रतिफल दिँदैनन्, सेयर मूल्य उच्च

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुको सेयरमा लगानी गरेर राम्रो प्रतिफल पाउने आशा जुनसुकै सेयरधनीको पनि हुन्छ । कम्पनी वर्तमानमा राम्रो लाभांश दिन नसके पनि भविश्यमा राम्रो प्रतिफल दिन सक्ने आँकलन गरेर धेरैले सो कम्पनीको सेयरमा लगानी गरेका हुन्छन् भने कतिपयले सर्टटर्मको लागि भनेर सेयर खरिद बिक्री गर्दै नाफा असुल्छन् । सामान्यतः नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले आफ्ना सेयरधनीलाई वार्षिक रुपमा लाभांश खुवाउँदै आएका छन् । लगानीकर्ताले पनि प्रतिफल पाउने आशमा कम्पनीमा लगानी गरिरहेका हुन्छन् । जुन कम्पनीले बढी लाभांश अर्थात् प्रतिफल दिन्छ सो कम्पनीको सेयरमा आकर्षण हुनु पनि स्वभाविक नै हो । जसले सेयरधनीले बढी लाभांश दिन्छ उक्त कम्पनीको सयर मूल्य पनि अन्य कम्पनीको सेयर मूल्यको तुलनामा बढी नै हुन्छ । तर, केही कम्पनी यस्ता पनि छन् जुन कम्पनीले सेयरधनीलाई प्रतिफल दिएका छैनन् तर ती कम्पनीको सेयर खरिद गर्ने सेयरधनीको आकर्षण छ भने सेयर मूल्य पनि राम्रो प्रतिफल दिने कम्पनीहरुको तुलनामा उच्च छ । बीमा क्षेत्रको राष्ट्रिय बीमा कम्पनी र ट्रेडिङ समूहको बिशाल बजार कम्पनीले हालसम्म लाभांश वितरण गरेका छैनन् । तर पनि यी दुई कम्पनीको सेयर मूल्य अधिकांश कम्पनीको तुलनामा कयौं गुणा बढीमा दोस्रो बजारमा खरिद बिक्री भइरहेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी २०७१ पुस २४ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएपश्चात् कम्पनीले कुनै पनि आर्थिक वर्ष सेयरधनीलाई लाभांश वितरण गरेको छैन । दोश्रो बजारमा सूचीकृत हुनुभन्दा अघि भने कम्पनीले आर्थिक वर्ष २०६२/६३ को नाफाबाट ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । लामो समयसम्म लाभांश वितरण नगरेको कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता १४ हजार २५१ रुपैयाँमा कारोबार भइरहेको छ । विगत एक वर्षमा कम्पनीको सेयर प्रतिकित्ता १८ हजार ५८८ रुपैयाँसम्म कारोबार भएको थियो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बजार पुँजीकरण ३७ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ छ । दोश्रो बजारमा कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । धितोपत्रको व्यवस्थाअनुसार लाभांश वितरण गर्न कम्पनीले साधारण सभा गर्नुपर्ने हुन्छ । साधारणसभा गर्नको लागि प्रत्येक वर्षको वार्षिक प्रतिवेदन महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षक अनुमोदन गराई सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्छ । नियामकले स्वीकृत गरेपछि कम्पनीलाई उक्त वर्षको साधारण सभा बोलाउनको लागि बाटो खुल्छ । तर, राष्ट्रिय बीमा कम्पनीले भने वर्षौंदेखि वार्षिक साधारण सभा गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०६७/६८ पछिका कुनै पनि साधारण सभा बोलाएको छैन । नियामक बीमा समितिबाट वार्षिक प्रतिवेदनको स्वीकृति बिना कम्पनीले सभा गर्न पाएको छैन । पछिल्लो समय भने कम्पनी धमाधम विगतका वर्षहरुका वार्षिक रिर्पोट स्वीकृत गराउनतर्फ लागिरहेको छ । नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले कम्पनीको सीईओको जिम्मेवारी पाएपछि पेन्डिङ्ग रहेका कामहरु धमाधम हुन थालेको छ । आर्थिक वर्ष २०७१/७२ देखिका परीक्षण हुन बाँकी रहेका प्रतिवेदनहरु हाल आर्थिक वर्ष २०७२/७३ सम्मको प्रतिवेदन स्वीकृत भइसकेको कम्पनीले जानकारी गराएको छ । कम्पनीमा सरकारको ४७.५ प्रतिशत, नेपाल बैंकको १०.५ प्रतिशत र कर्मचारी सञ्चय कोषको २२, सर्वसाधारणको १२ र संस्थापकको ८ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, २०६४ साउनमा नेप्सेमा सूचीकृत भएको बिशाल बजार कम्पनीको अवस्था पनि त्यस्तै छ । बिशाल बजार दोश्रो बजारमा सूचीकृत भएको १५ वर्ष नाघ्यो । तर, कम्पनीले हालसम्म लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश खुवाउन सकेको छैन । हाल यस कम्पनीको सेयर मूल्य हाल ३ हजार ६८० रुपैयाँ छ । बिहीबार कम्पनीको बजार पुँजीकरण १ अर्ब ८० करोड रुपैयाँ थियो । यस कम्पनीको सेयर अधिकतम् ६ हजार ८९० रुपैयाँसम्म पुगेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँ छ । बजारमा कम्पनीको ४ लाख ९१ हजार ४०० कित्ता सेयर सूचीकृत छन् । जसमध्ये ८५.२६ प्रतिशत अर्थात ४ लाख १८ हजार ९६७ कित्ता साधारण र १४.७४ प्रतिशत अर्थात ७२ हजार ४३३ कित्ता संस्थापक सेयर रहेका छन् । विशाल बजार कम्पनी २०२६ सालदेखि सञ्चालनमा आएको हो । जसको रजिष्टर्ड कार्यालय काठमाडौंको शुक्रपथमा छ । जसको उद्देश्य नेपाल कानुनको अधिनमा रही घर, पसल/कवल, जमिन आदि भाडामा लिने, दिने लगायत फ्याक्ट्री, भवन, बंगला, गोदाम, टहरा, कार्यालय, पसल, ग्यारेज, वर्कशप आदीको कारोवार गर्ने र ग्राहकलाई विभिन्न सुविधा दिई आधुनिक कम्प्लेक्सको रुपमा विकास गर्ने रहेको छ । किन छ आकर्षण ? लाभांश अर्थात प्रतिफल नै नदिने कम्पनीमा लगानीकर्ताको आकर्षण किन हुन्छ भन्ने विषय पनि धेरैले चासाका रुपमा हेरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले लामो समयसम्म वितरण नगरेका कम्पनीले लाभांश दिइहाल्छन् की भन्ने आशमा लगानीकर्ताहरुले यी कम्पनीको सेयर किन्ने गरेको बताउँछन् । ‘यी कम्पनीले चाहे भने २/३ सय प्रतिशत लाभांश दिन सक्छन्, त्यहि आशमा पनि लगानीकर्ताले धेरै नभएपनि थोरै मात्रामा भएपनि सेयर किनेर राखेका छन्, बोनस तथा हकप्रद आयो भने मालामाल भइनेमा लगानीकर्ताहरु आशाबादी छन्,’ रौनियारले भने । त्यस्तै, विशाल बजारको हकमा कम्पनीको अट्याच सेयर हुनेले त्यहाँको पसल पाउने व्यवस्था रहेको छ । र, उक्त अट्याच भएको सेयर भनेको समयमा किनबेच गर्न नमिल्ने जानकारहरु बताउँछन् । बिशाल बजार कम्पनीले लाभांश वितरण गरेको या नगरेको कुनै पनि तथ्यांक आफ्नो वेवसाइटमा राखेको छैन । यता लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियार भने कम्पनीले विगतमा लाभांश वितरण गरेको बताउँछन् । ‘कम्पनीले विगत १० वर्ष अगाडि लाभांश वितरण गरेको याद छ, बीचमा सरकारसँगको मुद्दा परेको थियो, त्यसपछि भने कुनै पनि लाभांश वितरण गरेको छैन,’ उनले भने । यी कम्पनीहरुले हालसम्म लाभांश नदिएपनि राम्रो सम्पत्ति भएकै कारणले पनि लगानीकर्ताको आकर्षण हुने धेरैको बुझाइ छ । कम्पनीले अहिले प्रतिफल नदिएपनि भोलिको दिनमा राम्रो नाफा हुन सक्ने विश्वास लगानीकर्तामा भएकै कारण लगानी गरिरहेकाे र सेयर मूल्य पनि अन्यकाे तुलनामा राम्राे भएकाे बुझ्न सकिन्छ ।

घट्दो बजारमा सीआईटीको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । बजारमा घट्दो नेप्से परिसूचकसँगै कारोबार रकमले निरन्तरता पाएको हो । बुधबारको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७.६८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले घटी हो । त्यस्तै, बजारमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी मंगलबारको बजारमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । घट्दो बजारमा नागरिक लगानी कोष (सीआईटी) को भने सर्वाधिक सेयर कारोबार भएको छ । मंगलबार सर्वाधिक कारोबार भएको कम्पनीको सेयर बुधबारको बजारमा पनि सर्वाधिक भएको छ । बुधबारको बजारमा १० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा भने घटी हो । अघिल्लो दिनको बजारमा कम्पनीको १५ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा सीआईटीको सेयर मूल्य ३९.३८ रुपैयाँले बढेर प्रतिकित्ता २२५४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलामा १.७८ प्रतिशतले बढी हो । घटेको बजारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य २७.५० रुपैयाँले बढेर प्रतिकित्ता ३०३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार सबैभन्दा बढी सेयर मूल्य घट्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । पहिलो दिन दोश्रो बजारमा कारोबार भएको कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४५९.५० रुपैयाँमा झरेको छ । सो दिन इन्भेष्टमेन्ट र उत्पादनमूलक समूह क्रमशः ०.४७ र २७.१० रुपैयाँले बढेको छ । अन्य समूह भने राताम्मे देखिएका छन् ।

पहिलो दिनको कारोबारमै १० प्रतिशतले घट्यो हिमालयन एभरेष्टको सेयर मूल्य

काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको रकमभन्दा प्रतिकित्ता ५०.९८ रुपैयाँले घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ५१०.४८ रुपैयाँ तोकिदिएको थियो । तर, कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भयो । त्यसपछि दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा घट्यो । पहिलो दिनको कारोबारमा कम्पनीको १ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २९२ पटकको कारोबारमा कूल ३९ हजार ९३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

सीआईटीको ३० प्रतिशत बोनस समायोजन हुँदा ६६५ रुपैयाँ घट्यो सेयर मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (सीआईटी) को बोनस सेयर समायोजन भएको छ । नेप्सेमा कोषको ३० प्रतिशत बोनस सेयर समायोजन भएको हो । नेप्सले कोषको मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात् २ हजार २१४.६२ रुपैयाँ कायम भएको छ । मंगलबार कोषको अन्तिम कारोबार २ हजार ८७९ रुपैयाम भएको थियो । यस आधारमा कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँले घटेको छ । कोषको मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको थियो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २५ गते बुकक्लोज गर्ने भएकाले मूल्य समायोजन भएको हो । कोषले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत र १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोही लाभांश पारित गर्न भदौ ६ गते साधारण सभा बोलाएको छ ।

यस कारण शिवम् सिमेन्टको सेयर मूल्यमा उछाल

काठमाडौं । शिवम् सिमेन्टले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको भन्दै व्यवसाय प्रवर्द्धनात्मक प्रचार अभियान थालेपछि यस कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ठिक महिनाअघि प्रतिकित्ता ६६० रुपैयाँसम्ममा कारोबार भएको शिवम् सिमेन्टकाे सेयर बुधबार प्रतिकित्ता ८४७ रुपैयाँसम्ममा किनबेच भयो । बुधबार मध्यान्य सम्ममा प्रतिकित्ता ६१ रुपैयाँ अर्थात ७.७८ प्रतिशतसम्मले मूल्यवृद्धि भएको छ । सेयर कारोबार रकम, सेयर कारोबार संख्या, कारोबार भएको सेयर कित्ता सबै आधारमा बुधबार शिवम् सिमेन्ट एक नम्बरमा रहेको नेप्सेले जनाएको छ । पछिल्लो एक महिनामा बढी सेयर कारोबार हुने कम्पनीमा पनि शिवम् सिमेन्ट रहेको छ । ‘नेपालमै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्न सफल’ भनेर व्यवसाय प्रवर्द्धनात्मक प्रचार गरिरहेको छ । त्यसमा कम्पनीले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको उल्लेख गरेको छ । कम्पनीको अनुसार ११ वर्षमा ११ करोड बोरा सिमेन्ट बिक्री गरेको हो । तर बजारमा एक वर्षमा नै ११ करोड सिमेन्ट बिक्री गरेको भन्ने सन्देश गएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/८९ मा नै यति धेरै सिमेन्ट बेचेको हो कि भन्ने सन्देशले पनि सेयर मूल्यमा सकारात्मक प्रभाव परेको हुन सक्ने बताइएको छ । आर्थिक वर्षको अन्त्यपछिको उक्त प्रचारले पनि एक वर्ष नै यति धेरै सिमेन्ट बिक्री भएको हो कि भन्ने सन्देश प्रवाह भएको देखिन्छ । ‘सेयर मूल्यलाई प्रभाव पार्ने गरी कम्पनी भित्र कुनै परिवर्तन आएको छैन’ कम्पनी सम्बद्ध स्रोतले भन्यो–‘एक वर्षमा नै ११ करोड बोरा सिमेन्ट बिक्री भएको बुझाई कसैलाई परेको छ भने त्यो गलत हो । ११ वर्षमा ११ करोड बोरा सिमेन्ट बिक्री गर्न सफल भएका हौं’ स्रोतले भन्यो ।

एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ३२० रुपैयाँलाई आधार मानेर हुने छ ।

हकप्रद र मर्जरको हल्लाले सेयर मूल्यमा चलखेल

काठमाडौं । पछिल्लो समय बजारमा खुल्लेआम इन्साईडर ट्रेडिङ भइरहेको पाइएको छ । हुन त नेपाली पुँजीबजारमा यसलाई परम्परागत रुपमै चल्दै आएको चलन भन्दा पनि खासै फरक नपर्ला । इन्साईडर ट्रेडिङ एक भित्री कारोबार हो । अर्थात् कुनै कम्पनीको सेयर मूल्यमा असर पर्ने गोप्य सूचना तथा जानकारी सीमित व्यक्तिमार्फत थाहाँ पाई धितोपत्र मूल्यमा चलखेल गर्नु हो । पछिल्लो समय लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको सेयरमा पनि चलखेल भइरहेको पुष्टि भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने र त्यसमा भारतीय कम्पनीले लगानी गर्ने भित्रि सूचना चुहिएसँगै बजारमा कम्पनीको सेयर एकाएक बढेको पाइएको छ । जसका कारण कम्पनीको सेयर भाउ छोटो अवधि अर्थात दुई सातामै प्रतिकित्ता ४०९ रुपैयाँले बढ्यो । नेप्सेका अनुसार असार ९ गते प्रतिकित्ता ११४० रुपैयाँमा किनबेच भएको कम्पनीको सेयर असार २१ गते १५४९ रुपैयाँसम्म पुग्यो । उता भारतीय जीवन बीमा निगमले एलआईसी नेपालको हकप्रदमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गर्यो । उक्त निर्णय जुलाई ४ मा भयो । त्यससँगै यता जुलाई ५ अर्थात असार २१ गतेको पुँजीबजारमा एलआईसीको नेपालको सेयर मूल्य एकाएक सकारात्मक सर्किट लेभलमा कारोबार भयो । र, अघिल्लो दिन प्रतिकित्ता १४०९ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य एकैदिनमा बढेर प्रतिकित्ता १५४९ रुपैयाँ पुग्यो । सेयर मूल्य मात्र होइन कम्पनीको सेयर कारोबार पनि बढेको थियो । एकैदिन कम्पनीको ११ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने विषयमा हालसम्म बजार सञ्चालक नेप्सेलाई कुनै पनि जानकारी गराएको छैन । नेप्सेलाई मात्र होइन नियामक निकाय बीमा समितिलाई समेत यसबारे कुनै पनि जानकारी नभएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘समितिले कम्पनीहरुलाई पुँजी वृद्धिको लागि हकप्रद प्राथमिकतामा नराख्न निर्देशन दिँदै आएको छ, तर थोरै रकम अपुग भएको खण्डमा मात्रै सेयर जारी गर्न दिनेछौं,’ पौडेलले भने । यसको मतलब कम्पनीले भित्र भित्रै मात्रै नभई आधिकारिक रुपमै हकप्रद जारी गर्ने प्रस्ताव गरे पनि समितिले भने त्यसलाई स्वीकृति दिने सम्भावना एकदम न्युन छ । बीमा समितिले २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुलाई कम्तिमा ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई कम्तिमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । सोहि अनुसार अधिकांश कम्पनीहरु पछिल्लो समय मर्जरको लागि दोडधुप गरिरहेका छन् भने कोहीले पार्टनर खोजी पहिलो चरणको सम्झौता समेत गरिसकेका छन् । र, कोहि भने संस्थापकहरुलाई थप लगानी गर्नको लागि आव्हान गरिरहेका छन् । यता एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । समितिले तोकेको न्युनतम ५ अर्ब चुक्ता पुँजी पर्याउन कम्पनीले थप २ अर्ब ३५ करोड रुपैयाँ थप्नुपर्ने देखिन्छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले २०७९ जेठ ३१ गतेदेखि दोश्रो बजारको यात्रा शुरु गरेको हो । पहिलो कारोबारमा संस्थाको सेयर ३८२.२० रुपैयाँमा भयो । घट्दो बजारमा भित्रिएको कम्पनीको सेयर मूल्य भने निरन्तर रुपमा बढी नै रह्यो । घटेको त रेकर्ड नै रहेन । पछिल्लो दिनको कारोबारमा त झन् संस्थाको सेयर निरन्तर रुपमा सर्किट लेभलमा नै किनबेच भयो । र, असार २२ गतेको बजारमा संस्थाको सेयर प्रतिकित्ता १६९८.२० रुपैयाँमा कारोबार भयो । जुन संस्थाको हालसम्मकै उच्चतम मूल्य हो । यससँगै कारोबार शुरु भएको महिना दिन पनि पुग्न नपाउँदै कम्पनीको सेयर मूल्य ३४४.३३ प्रतिशतले बढेको छ । असार २३ गतेको बजारमा भने संस्थाको सेयर कारोबार भएन । कारण थियो आँधीखोला लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने । दुई लघुवित्तले एक आपसमा मर्जरमा जानको लागि प्रारम्भिक सम्झौता गरेसँगै नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का गरिदियो । यससँगै उक्त मर्जर प्रक्रिया सकिएर एकीकृत कारोबार शुरु गरेको केही दिनपछि मात्रै संस्थाको सेयर दोश्रो बजारमा किनबेच हुने छ । यता आँधीखोला लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारमा सेयर कारोबार फुकुवा भएको धेरै भएको छैन । यद्दपि संस्थाले दोश्रो बजारको यात्रा भने २०७६ भदौ ९ गतेदेखि नै शुरु गरेको थियो । तर, धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता भएसँगै संस्थाको सेयर कारोबार रोक्का भएको थियो । करिब ३ वर्षदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार नेप्सेले २०७९ जेठ २७ गतेदेखि मात्रै फकुवा भएको हो । कारोबार फुकुवा भएसँगै बजारमा संस्थाको सेयर मूल्य अधिकांश दिन बढ्यो । जेठ २७ गतेदेखि असार २२ गतेसम्मको कारोबारमा आँधिखोला लघुवित्तको सेयर भाउ २५०.६० प्रतिशतले बढेको छ । कारोबार रोक्का हुँदा संस्थाको सेयर मूल्य ३९०.७६ रुपैयाँ थियो । कारोबार फुकुवा भएपछिको पहिलो दिन (जेठ २७ गते) संस्थाको सेयर मूल्य बढेर ३९८.५० रुपैयाँ पुगेको थियो । त्यसपछि असार २२ गतेसम्मको अवधिमा संस्थाको सेयर मूल्य दुई दिन घटेको देखिन्छ भने बाँकी दिन निरन्तर बढेको देखिन्छ । यो अवधिमा नेप्से परिसूचक भने घटेर १८४८ बिन्दुसम्म झरेको थियो । तर, सीवाईसी लघुवित्त र आँधीखोला लघुवित्तको सेयर मूल्य भने बढीनै रहेको थियो । नेप्से परिसूचक घटेको दिनमा पनि यी दुई लघुवित्तको सेयर प्राय सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको थियो । महिना दिन पनि नबित्दै सीवाईसी लघुवित्तको ३४४.३३ प्रतिशत र आँधीखोला लघुवित्तको २५०.६० प्रतिशतले सेयर भाउ बढ्यो । जसमध्ये सीवाईसी लघुवित्तको सेयर मूल्य बढ्नु त एक हिसावले स्वाभाविक थियो । किनभने हालै बजारमा भित्रिएका प्राय जसो धेरै कम्पनीको सेयर मूल्य केही दिनसम्म निरन्तर बढेर एक लेभलसम्म पुग्ने गरेको पाइन्छ । तर, अन्य कम्पनीको सेयर मूल्य घट्दा आँधिखोला र सीवाईसी लघुवित्तको सेयर सर्किट लेभलमा किनबेच हुनुले एक लेभलको शंका पैदा हुनु ठिकै हो । बजारमा यी दुईबीच मर्जरको हल्ला चलेसँगै त्यसको प्रभाव सेयर मूल्यमा परेको जानकारहरु बताउँछन् । नभन्दै असार २२ गते दुबै संस्थाले एक आपसमा मर्जमा जान समझदारी पत्रमा हस्ताक्षर गरे । सो प्रयोजनको लागि हाल दुबै कम्पनीको सेयर कारोबार रोक्का छ । यी त केही उदाहरण मात्रै हुन् । यस्ता थुप्रै घटनाहरु हामीले विगतमा पनि सुन्दै र भोग्दै आएका छौं । जसलाई सेयर बजारको विकृति रुपमा हेरिन्छ किनभने यसबाट साना लगानीकर्ताहरु सबैभन्दा बढी मारमा पछन् । पछिल्लो समय यो मौलाउँदै आइरहेको छ । यद्दपि, यस्ता विकृतिलाई बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सकेसम्म हटाउने होइन भने न्यून गराउने नीति ल्याउन आवश्यक देखिने जानकारहरु बताउँछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ४१२ रुपैयाँलाई आधार मानेर गरिएको हो । र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब कम्पनीको सेयर किन्नेहरु गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

आइतबार सबै कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?

काठमाडौं । आइतबारको सेयर बजारमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । बजारमा कारोबारमा आएका १९५ वटै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारको तुलनामा बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, सो सूचीमा २१ कम्पनी रहेका छन् । त्यस्तै, १० प्रतिशतको हाराहारीमा मूल्य बढ्नेमा ११ कम्पनी रहेका छन् । जसको सेयर मूल्य न्युनतम ९.९५ प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशतसम्म बढेको छ । कसको मूल्य कतिले बढ्यो ? नेशनल हाइड्रोपावर कम्पनी, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, यूनियन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, सबैको लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, बिशाल बजार, नबिल ब्यालेन्स्ड फण्ड २, लिवर्टी इनर्जी कम्पनी, न्यादी हाइड्रापावर, हिमालयन पावर पार्टनर, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सानिमा माई हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक र जोशी हाइड्रेपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९५ देखि ९.९९ प्रतिशतसम्म बढेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी बढ्नेमा जीवन बीमा समूह रहेको छ ।

वाणिज्य बैंकसहित २१ कम्पनीको सेयर मूल्य २ सय मुनि, अधिकांशको हालसम्मकै सस्तो

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । बजार घटेसँगै दोश्रो बजारमा सूचीकृत कम्पनीका सेयर मूल्य पनि दिनानुदिन घट्दो क्रममा छन् । यो अवधिमा विभिन्न समूह अन्तर्गतका कम्पनीको सेयर मूल्य न्यूनतम मूल्यमा झरिसकेका छन् । नेप्सेका अनुसार असार पहिलो सातासम्मा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रो, होटल र इन्भेष्टमेन्ट समूहका अधिकांश कम्पनीका सेयर मूल्य न्यूनतम मूल्यमा किनबेच भइरहेको छ । बिहीबार कारोबारमा आएका १९५ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य २ सयभन्दा तल झरिसकेको छ ।  जसमा वाणिज्य बैंकमध्ये ५ कम्पनीको सेयर २०० रुपैयाँभन्दा सस्ता भएका छन् । जसमा लक्ष्मी बैंकको १९८.८०, कुमारी बैंकको १९४, सिभिल बैंकको २००.७०, सेञ्चुरी कमर्शियल बैंकको १८३.५० र सनराइज बैंकको प्रतिकित्ता १९८ रुपैयाँ रहेको छ । जसमध्ये कुमारी, सेञ्चुरी र सनराइज बैंकको सेयर मूल्य हालसम्मकै न्यूनतम मूल्य हो । इन्भेष्टमेन्ट समूह अन्तर्गतको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँमा झरेको छ । जसको सेयर प्रतिकित्ता ५७५ रुपैयाँसम्म कारोबार भएको छ । त्यस्तै, सेयर भाउ २०० भन्दा तल हुनेमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । असार ९ गतेसम्मको कारोबारमा १० वटा हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा कम छ । जसमा यूनियन हाइड्रोको १७५.९०, हिमाल दोलखा हाइड्रोको १७४.३०, घलेम्दी हाइड्रोको १९०.६०, जोशी हाइड्रोको १७१, आँखुखोला जलविद्युत कम्पनी १७४.५०, मध्यभोटेकोशी जलविद्युत कम्पनी २००, यूनिभर्सल पावर कम्पनी १८६, दिव्यश्वरी हाइड्रोको १७६.९०, खानी खोला हाइड्रोको १८० र पञ्चकन्या माई हाइड्रो प्रतिकित्ता १८७ रुपैयाँ रहेको छ । त्यस्तै, होटल्स समूह अन्तर्गतको सोल्टी होटलको सेयर भाउ घटेर प्रतिकित्ता १८९.१० रुपैयाँमा झरेको छ । जुन न्यूनतम मूल्यको हाराहारीमा छ । यसअघि होटलको सेयर प्रतिकित्ता १८६ रुपैयाँसम्ममा किनबेच भएको थियो । दुई फाइनान्स र दुई विकास बैंकको सेयर मूल्य सस्तिएका छन् । जसमा सम्वृद्धि फाइनान्स र प्रोगेसिभ फाइनान्स रहेका छन् । बिहीबार यी दुई कम्पनीको सेयर क्रमशः प्रतिकित्ता १८८ र १९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जसमध्ये सम्वृद्धि फाइनान्सको सेयर भाउ हालसम्मकै कम हो भने प्रोगेसिभको न्यूनतम मूल्यका हाराहारीमा पुगेको छ । त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १८९ र ग्रीन डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १९५ रुपैयाँमा झरेको छ । घट्दो बजारमा लगानीकर्ताहरु प्यानिकमा सेयर बिक्री गर्न बाध्य भएपछि त्यसको असर मूल्यमा परेको हो । बैंक तथा वित्तीय संस्थाबाट आउने मार्जिन कलको डरले पनि लगानीकर्ताहरु प्यानिकमा सेयर बिक्री गर्न बाध्य भएका हुन् । नेपाली बजारको परिसूचक उच्चतम बिन्दुबाट ४२ प्रतिशत तल झरिसकेको छ । २०७८ भदौमा ३१९९ को उच्चतम बिन्दुमा पुगेको परिसूचक २०७९ असारमा १८४८.२८ बिन्दुमा झरेको छ ।

नबिलसँग मर्जको हल्लाले बढ्यो एनसीसी बैंकको सेयर मूल्य, कारोबार पनि सर्वाधिक

काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको सेयरको भाउ बढ्न थालेको छ । लगानीकर्ता पनि यसै बैंककाे सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता सेयर १० करोड ३५ लाख रुपैयाँमा किनबेच भएको छ । यो साता समग्रमा नेप्से परिसूचक घटिरहे पनि एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले बढेको छ । बिहीबार मात्र यस बैंकको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले बढेर २२२ रुपैयाँमा कारोबार बन्द भयो । जसको सेयर मध्यान्नमा प्रतिकित्ता २२७ रूपैयाँसम्ममा काराेबार भएकाे थियाे । केही दिनअघि यस बैंकको सेयर प्रतिकित्ता २०२ रुपैयाँसम्ममा झरेकाे थियाे । एक वर्षअघिदेखि नै नबिल र एनसीसी बैंकबीच मर्जरबारे समाचार बन्दै आएका छन् । तर एनसीसी बैंकका सञ्चालक एवं मर्जर कमिटिका एक सदस्यले भने मर्जरको विषयमा पछिल्लो समय छलफल नभएको बताए । ‘पहिला एक चरणमा एनसीसी र नबिलबीच मर्जको विषयमा धेरै प्रगति भएको थियो, अन्तिममा कुरो बिग्रिएको हो’ उनले भने- ‘अहिले त कुराकानी भएको मेरो जानकारीमा छैन’ ती सञ्चालकले भने । नबिलमा नेपाल बंगलादेश बैंक विलय हुँदैछ । नियम अनुसार त एउटासँगको मर्ज प्रक्रिया पुरा नभई अर्को मर्जर प्रक्रिया थाल्न मिल्दैन । तर यसअघि दुई बैंक तथा वित्तीय संस्था मर्जर चल्दै गर्दा तेस्रो सस्थासँग पनि मर्जर सम्झौता भएको र त्यसमा राष्ट्र बैंकले आँखा चिम्लिएको घट्ना धेरै छन् । राष्ट्र बैंकले असार मसान्तसम्म मर्जरमा नजानेलाई साउनदेखि मर्जर सम्बन्धि छुट सुविधा नहुने जनाएपछि पछिल्लो समय धेरै बैंकहरु भटाभट मर्जरमा जाँदैछन् । सम्बन्धित समाचार मर्जरमा जाने एनसीसी बैंककाे नीतिगत प्रस्ताव पारित, कुन बैंकसँग हुँदैछ मर्ज ? एनसीसी बैंकमा विनोद चौधरीको प्रवेश, बुक क्लोजअघि ३५ करोड लगानी राष्ट्र बैंकले पत्र लेखेपछि एनसीसी बैंकबाट विनोद चौधरी आउट

२३ वटा लघुवित्तको सेयर मूल्य एक हजारभन्दा सस्तो

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्दो रुपमा छ । बजार घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि सस्तिँदै गएको छ । बजारमा बैंकमात्र नभई हरेक समूह अन्तर्गतका कम्पनीका सेयर मूल्य घटी रहेको छ । बजारमा सूचीकृत ५१ लघुवित्तहरुमध्ये २३ वटाको सेयर मूल्य एक हजारभन्दा तल झरिसकेको छ । जबकी उनीहरुको सेयर कारोबार प्रतिकित्ता २ हजारभन्दा बढी मूल्यमा भइसेकेको थियो । २३ वटा लघुवित्तमध्ये डिप्रोक्स लघुवित्तको सबैभन्दा बढी सेयर मूल्य छ । गत शुक्रबारको बजारमा संस्थाको सेयर प्रतिकित्ता ९९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जुन संस्थाको न्यूनतम मूल्यको हाराहारीमा छ । हालसम्म संस्थाको उच्चतम मूल्य प्रतिकित्ता २००० र न्यूनतम मूल्य प्रतिकित्ता ९५९ रुपैयाँ रहेको छ । यीमध्ये अधिकांश कम्पनीको सेयर भाउ ८ सयदेखि ९ सय रुपैयाँको बीचमा छ । जसमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको घटेको देखिन्छ । प्रतिकित्ता २३ सय १० रुपैयाँसम्म कारोबार भएको लघुवित्तको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ८९५ रुपैयाँमा झरेको छ । जुन न्यूनतम मूल्य भने होइन । संस्थाको सेयर हालसम्म प्रतिकित्ता २९६.७० रुपैयाँभन्दा तल भने झरेको छैन । त्यस्तै, सबैभन्दा सस्तो आँधीखोला लघुवित्त रहेको छ । संस्थाको सेयर अहिले करिब ४०० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ । गत शुक्रबारको बजारमा संस्थाको अन्तिम सेयर कारोबार प्रतिकित्ता ३९८.५० रुपैयाँमा भएको थियो । जबकी कम्पनीको सेयर उच्चतम ४३५ र न्यूनतम प्रतिकित्ता ३९०.७६ रुपैयाँमा कारोबार भएको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेसँगै लगानीकर्ताहरुलाई लगानी गर्नको लागि सहि समय देखिएको छ । घटेको बजारमा लगानी गर्नेले भावी दिनमा राम्रो प्रतिफल पाउने समेत जानकारहरु बताउँछन् । कसको मूल्य कति ?

वाणिज्य बैंकको सेयर मूल्य २०० भन्दा तल, सस्तोमा सेयर किन्ने अवसर

काठमाडौं । सेयर बजार घट्दै जाँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर जुरेको छ । बाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल झरेको छ । सेन्चुरी कमर्शियल बैंकको सेयर शुक्रबार १९६ देखि १९९ रुपैयाँमा किनबेच भएको छ । बैंकको सेयर तीन वर्षपछि २०० रुपैयाँ भन्दा तल झरेको हो । एक वर्षअघि यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँसम्ममा कारोबार भएको थियो । एक वर्षका कम्पनीको सेयर मूल्य करिव ३९ प्रतिशतले घटेको छ । बुधबार सिभिल बैंकको सेयर पनि प्रत्तिकित्ता १९६ रुपैयाँमा कारोबार भएको थियो । एक वर्षअघि यस बैंकको सेयर ३१६ रुपैयाँसम्ममा किनबेच भएको थियो । यस बैंकको सेयर मूल्य पनि एक वर्षमा ३८ प्रतिशतले घटेको छ । सेन्चुरी र सिभिल जस्ता नयाँ बैंकको मात्र होइन, पुराना बैंकहरुको सेयर मूल्य पनि २००को हाराहारीमा झरेको छ । कुमारी बैंकको सेयर यसै साता प्रतिकित्ता २०० रुपैयाँमा किनबेच भयो । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर पनि यो सातामा २०२ रुपैयाँमा किनबेच भयो । एक वर्षअघि प्रतिकित्ता यस बैंकको सेयर ४०७ रुपैयाँमा किनबेच भएको थियो । सनसाइज बैंकको २१२, लक्ष्मी बैंकको सेयर २१५ र बैंक अफ काठमाण्डूको सेयर मूल्य यो साता २१५ रुपैयाँसम्ममा झरेको छ । सिटिजन्स बैंकको २२३, मेगा बैंकको २२६, प्रभु बैंकको २३७, माछापुच्छ«े बैंकको सेयर मूल्य २४५ रुपैयाँमा झरेको छ । पुराना, ठूला र स्थापित बैंकहरुको सेयर मूल्य पनि ३०० रुपैयाँ भन्दा कममा कारोबार भैरहेको छ । ग्लोबल आईएमई बैंक र इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य २६५ रुपैयाँमा झरेको छ । एनएमबी बैंकको २६८, प्राइम बैंकको २७२, सानिमा बैंकको २८५, नेपाल बैंकको २९०, नेपाल एसविआई बैंकको २९६ रुपैयाँमा किनबेच भैरहेको छ । हिमालयन बैंकको सेयर ३१६, कृषि विकास बैंकको ३३५, सिद्धार्थ बैंकको ३३६ रुपैयाँमा कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ३९७ रुपैयाँमा झरेको छ । सेयरको सबैभन्दा बढी मूल्य नविल बैंकको छ । शुक्रबार यस बैंकको सेयर प्रतिकित्ता ८४८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो महाँगो सेयर एनआईसी एशिया बैंकको ७१६ रुपैयाँमा किनबेच भएको छ । तेस्रो महँगो एभरेष्ट बैंकको सेयर मूल्य ४५८ रुपैयाँमा झरेको छ ।

आधा घण्टा नबित्दै १० प्रतिशतले घट्यो हिमालयन बैंकको सेयर मूल्य

काठमाडौं । सोमबार कारोबार खुलेको आघा घण्टा नबित्दै हिमालयन बैंकको सेयर मूल्य घटेको छ । लामो समयसम्म रोक्का भई कारोबार खुलेको बैंकको सेयर मूल्य नियमित बजार खुलेको ३० मिनेट नबित्दै ९.९९ प्रतिशतले घटेको हो । पछिल्लो समय बैंकको अन्तिम सेयर कारोबार प्रतिकित्ता ३९८.७५ रुपैयाँमा भएको थियो । आज(जेठ २३) गतेको बजारमा बैंकको सेयर कारोबार प्रतिकित्ता ३९०.८० रुपैयाँमा खुलेको हो । त्यसपछिको कारोबार सेयर मूल्य ९.९९ प्रतिशत अर्थात ३९.८५ रुपैयाँले घटेर प्रतिकित्ता ३५८.९० रुपैयाँमा झरेको छ । बजारमा बैंकको सेयर किन्ने कोही नभएपछि सेयर मूल्य घट्न पुगेको हो । मार्केट डेप्थअनुसार बैंकको ३१ हजार २३५ कित्ता सेयर बिक्रीमा रहेको छ । सम्बन्धित सामाग्री : हिमालयन बैंकको पनि खुल्यो सेयर कारोबार, कति छ मूल्य ?

बिहीबार १० प्रतिशतले बढ्यो बलेफी हाइड्रोको सेयर मूल्य, माउन्टेनको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । केही समयदेखि यता निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार पनि १८.२६ अंकले घटेर २११२.४७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशतले घटी हो । बजारमा बढी कारोबार गर्ने र बढी सेयर मूल्य बढ्नेको अग्रस्थानमा हाइड्रो कम्पनी छन् । जसमा बढी कारोबार गर्नेको शीर्ष स्थानमा माउन्टेन हाइड्रो नेपाल रहेको छ । बिहीबार हाइड्रोको सर्वाधिक कारोबार भएको छ । हाइड्रोको एकैदिन १२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य पनि अघिल्लो दिनको तुलनामा ४.२० प्रतिशतले बढेर प्रतिकित्ता ३२० रुपैयाँ पुगेको छ । त्यस्तै, बजारमा टप गेनरको शीर्ष स्थानमा बलेफी हाइड्रो छ । घटेको बजारमा पनि हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता १५३.३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३.९० रुपैयाँले बढी हो । समग्रमा बिहीबारको बजारमा १ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएका छन् । बिहीबार बढी प्रतिशतले सेयर मूल्य घट्नेमा प्रभु लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको सेयर मूल्य ६.४७ प्रतिशतले घटेर प्रतिकित्ता ४१५ रुपैयाँमा झरेको छ ।

विन नेपाल लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.३३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८७.८३ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १०८० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९८७.८३ रुपैयाँलाई आधार मानेर हुने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । लामो समय कारोबार रोक्का भएर खुलेको बैंकको सेयरर मूल्य दोश्रो कारोबारको दिन पनि १० प्रतिशतले घटेको हो । सोमबारजस्तै मंगलबार कारोबार शुरु भएको केही समयमै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमाँ झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३६.७० रुपैयाँले घटी हो । दोश्रो बजारमा बैंकको सेयर कारोबार करिब १३ महिनापछि जेठ १६ गते खुल्यो । सो दिन पनि कारोबार खुल्नासाथ बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो । यससँगै यो दुई दिनमै बैंकको सेयर मूल्य प्रतिकित्ता ७७.४९ रुपैयाँले घटिसकेको छ । कारोबार रोक्का हुनभन्दा अघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँमा कारोबार भएको थियो । बैंकको सेयर कारोबार २०७८ बैशाख ३१ गतेदेखि रोक्का भएको थियो । हिमालयन बैंकसँग मर्जर प्रकृयामा जानको लागि नेप्सेले सो दिनदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

इन्भेष्टमेन्टसँग मर्जको हल्लाले उचालियो मेगा बैंकको सेयर मूल्य

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) सँग मर्जको हल्ला चलेपछि मेगा बैंकको सेयर मूल्य एकाएक बढेको छ । बिहीबारको बजारमा बैंकको सेयर मूल्य मात्रै नभई कारोबार रकम, संख्या, कित्ता सबै एकाएक उचालिएको छ । सेयर बजारका एक लगानीकर्ताका अनुसार बैंकको एनआईबीएलसँगको मर्जमा जाने हाल्लाले मेगाको सेयर मूल्य बढेको हो । ‘एनआईबीएलसँग मर्जमा जाने हल्ला भएको छ, त्यसैले बढेको होला, १००ः९० दिने भनेर हल्ला भइरहेको छ, अब हो होइन, थाहा छैन,’ ती लगानीकर्ताले विकासन्युजसँग भने । ती लगानीकर्ताका अनुसार एनआईबीएलले मेगालाई १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज गर्दै छ । मेगा बैंकमा झुम्मिए लगानीकर्ता, सर्वाधिक कारोबारसँगै १० प्रतिशतले बढ्यो सेयर मूल्य बुधबारको बजारमा स्थिर रहेको बैंकको सेयर मूल्य बिहीबार १० प्रतिशतले बढेर प्रतिकित्ता २४७.५० रुपैयाँसम्ममा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २२.५० रुपैयाँले बढी हो । त्यस्तै, कारोबार रकम पनि अन्य कम्पनीको तुलनामा सर्वाधिक भएको छ । बैंकको एकैदिन ५ करोड ४२ लाख रुपैयाँ छ । जसको दिनभर ८९७ पटकको कारोबारमा कूल २ लाख २५ हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जुन अन्य कम्पनीको तुलनामा सर्वाधिक हो ।